February 4th, 2025

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख नाघ्यो

बैंकिङ खबर/ चालु आवको पुस महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्तको संख्या २ करोड ६३ लाख ३६ हजार १ सय १७ पुगेको छ । अघिल्लो महिनामा मंसिरमा २ करोड ६० लाख ३४ हजार ३ सय ५४ रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुषमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३ लाख बढीले बढेको हो । गत पुस मसान्तसम्म २ करोड ३२ लाख १५ हजार १ सय ८० रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या यो पुष मसान्तसम्म बढेर २ करोड ६३ लाख ३६ हजार १ सय १७ पुगेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड १३ लाख ६३ हजार ९८९ थियो। मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्दा वालेट प्रयोगकर्ताको भने घटेको छ । मंसिरको तुलनामा पुसमा वालेट प्रयोगकर्ताको संख्या ८१ हजारको हाराहारीमा घटेको हो । गत मंसिरमा २ करोड ५६ लाख ६२ हजार रहेको वालेट प्रयोगकर्ताको संख्या पुषमा २ करोड ५५ लाख ८० हजारमा सीमित भएको छ ।

गत वर्षको पुसमा २० लाख ८८ हजार ८ सय ३१ रहेको इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या चालु आवमा २१ लाख ८८ हजार ३ सय ८४ पुगेको छ । पुससम्म मोबाइल बैंकिङबाट ३ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। वालेट प्रयोग गरी ४० अर्ब रुपैयाँ भुक्तानी भएको छ ।