बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले देशको आर्थिक तथा वित्तीय अवस्था सुधारोन्मुख भएको जनाएको छ। आइतबार केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक मुद्रास्फीति ५ दशमलव ४१ प्रतिशत रहेको छ । यस्तै आर्थिक वर्ष २०८१/८२को पहिलो छ महिनाको तथ्यांकले आर्थिक तथा वित्तीय अवस्था सुधारोन्मुख रहेको देखाएको छ ।
पछिल्लो ६ महिनामा आयात ७१ प्रतिशतले वृद्धि भएको छ भने निर्यातमा पनि २१ दशमलव ८ प्रतिशतको वृद्धि देखिएको छ । रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा ४ दशमलव १ प्रतिशत र अमेरिकी डलरमा १ दशमलव १ प्रतिशतले बढेको उक्त तथ्यांकमा जनाइएको छ ।
तथ्यांकअनुसार देशको शोधनान्तर स्थिति २४९ अर्ब २६ करोडले बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेको छ । तथ्यांकले सरकारी खाता भने घाटामा गएको देखाएको छ । नेपाल सरकारले पछिल्लो ६ महिनामा ६६७ अर्ब ६० करोड खर्च गरेको छ, भने राजस्व संकलन जम्मा ५५९ अर्ब ६१ करोड रहेको छ ।
बैंकिङ क्षेत्रको तथ्यांकअनुसार विस्तृत मुद्रा प्रदायक २ दशमलव ९ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा १० दशमलव २ प्रतिशतको वृद्धि भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलन ३ दशमलव ७ प्रतिशतले वृद्धि गरेका छन् । त्यस्तै निजी क्षेत्रमा प्रवाहित कर्जा ५ दशमलव २ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेप ९ दशमलव ९ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७० प्रतिशतले बढेको देखिएको छ ।
राष्ट्र बैंकले प्रस्तुत गरेको आर्थिक सूचकहरूले देशको आर्थिक गतिविधिमा सुधारको संकेत गरेका हुन् । यद्यपि उच्च आयात वृद्धिले व्यापार घाटा बढाउने चिन्ता कायमै छ ।