बैंकिङ खबर/इसेवालगायतका मोबाइल वालेट प्रयोगकर्तालाई ठगी गर्ने गिरोह पक्राउ परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कैलालीका माइकल चौधरीसहित ठगीमा संलग्न सातजनालाई पक्राउ गरेको हो ।
प्रहरीको अनुसन्धानअनुसार उनीहरूले ठगीबाट आर्जित रकम ५४ करोडभन्दा धेरै क्रिप्टो मुद्रामा लगानी गरेका छन् । उनीहरूको सम्पत्ति सिआइबीले समेत छानबिन गर्न सुरु गरेको छ ।
पक्राउ पर्नेमा दुई भारतीयसमेत छन् । माइकल चौधरीसहित अनिल विश्वकर्मा, पीयूष श्रेष्ठ, अश्विसन चौलागाईं, सत्यम् सहनी, रोशन कुमार र मुन्ना कुमारलाई सिआइबीले पक्राउ गरेको हो । रोशन र मुन्ना भारतीय नागरिक हुन् ।
२२ वर्षीय माइकल आइटीका विद्यार्थी हुन् । उनले घर र गाडीसमेत खरिद गरिसकेका थिए । कुनै पेसामा आबद्ध नभएका उनले अनलाइन ठगी र क्रिप्टो कारोबारबाटै सो सम्पत्ति कमाएको प्रहरीको आशंका छ । उनको बाइनान्स एपमा ५४ करोडबराबरको मौज्दात देखिएको छ ।
विभिन्न व्यक्तिको वालेटबाट उनीहरूले पैसा चोरी गरी क्रिप्टो कारोबारमा लगानी गरेको सिआइबीले जनाएको छ । पक्राउ परेका अन्यको मोबाइलमा क्रिप्टोसम्बन्धी एपहरू भेटिएका छन् ।
उनीहरूविरुद्ध ठगीका साथै क्रिप्टो कारोबारको कसुरमा पनि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । त्यस्तै, पक्राउ परेका दुई भारतीयको हुन्डीलगायत अन्य आर्थिक अपराधमा पनि संलग्नता देखिएको छ ।




