January 6th, 2025

चुनौतीपूर्ण बन्दै कर्जा असुली

बैंकिङ खबर/ बैंकहरुमा देखिएको अधिक तरलता र वृद्धि भइरहेको खराब कर्जा व्यवस्थापन बैंकहरुलाई प्रमुख चुनौती बनेको छ । ऋण असुलीमा पनि बैंकहरुलाई ठूलो चुनौती देखिएको छ । जुन अहिले टाउको दुखाइको विषय बनेको छ । बैंकहरुले कर्जा असुली गर्न नसक्दा दिन प्रतिदिन बैंकहरुको खराब कर्जामा पनि वृद्धि हुने देखिएको छ । तीन चार वर्ष पहिला १ प्रतिशत रहेको बैंकहरुको एनपीए पछिल्लो समय अधिकांश बैंकहरुको ४ प्रतिशत माथि पुगेको छ । बैंकहरुमा एनपीए वृद्धि हुँदै जानु बैंकहरुको लागि ठूलो चुनौती हो । यसले खराब कर्जा वृद्धि हुँदा ऋण असुलीमा समस्या छ । बैंकहरुमा विगतमा प्रवाह भएको कर्जाबाट नियमित सावाँब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको हो ।

बैंकहरुलाई खराब कर्जा उठाउनै सकस भएको छ । कर्मचारी ऋण उठाउन जाँदा कुटपिटका साथै अभद्र व्यवहारमा पर्ने गरेका छन् । यसैबीच ऋण उठाउन जाँदा एक बैंकका कर्मचारीमाथि पेट्रोल छर्किएर जलाउने प्रयास भएको छ । एनआईसी एशिया बैंक रौतहट चन्द्रनिगाहपुर शाखाका कर्मचारीमाथि जलाउने प्रयास भएको हो । बैंकको तर्फबाट प्रहरीमा उजुरी समेत परेको छ । ईलाका प्रहरी कार्यालय गरुडामा दिएको जाहेरी अनुसार बैंकको महागढीमाई शाखाका शाखा इन्चार्ज विकास श्रेष्ठ र एक्सपिरियन्स एंकर जयदीप कुशवाहामाथि ऋणीले पेट्रोल खन्याएर ज्यान लिने प्रयास गरेका हुन् ।

महागढीमाई शाखाबाट ऋण लिएका नारायण सहनीको किस्ता अनियमित भएपछि गत पुस ४ गते श्रेष्ठ र कुशवाहा कानून अनुुसार धितो सम्पत्ति लिलाम बिक्री गर्ने कारबाही अघि बढाउन गरुडा नगरपालिका–३ मलाही टोल पुगेका थिए । कानून अनुसार प्रक्रिया अघि बढाउन पुगेका उनीहरुमाथि ऋणी समूहले दूव्र्यवहार गरेका साथै पेट्रोल छर्किएर जलाउने प्रयास भएको जाहेरीमा उल्लेख छ ।

‘ऋणी नारायण सहनी, ऋणीको श्रीमती चमेली सहनी, बिनोद सहनी र सिकेन्द्र सहनीले बैंकका कर्मचारीहरुलाई गालिगलौज गरी, हातपात गरी पेट्रोल खनाई लाइटर लिएर ज्यान मार्ने गरी आक्रमण गरेको, बैंकका कर्मचारीहरु विकास श्रेष्ठ र जयदीप कुशवाहा सो स्थानबाट भागेर ज्यान जोगाइ प्रहरी कार्यालय गरुडामा पुगेकोमा निज नारायण सहनी, चमेली सहनी, बिनोद सहनी र सिकेन्द्र सहनी उपर प्रचलित कानून बमोजिम कारवाही गरि पाउँ भनी निवेदन पेश गरिएको छ’,जाहेरीमा उल्लेख छ ।

केही दिन मात्रै सिद्धार्थ बैंक जनकपुर शाखामा ऋणीले तालाबन्दी गरेका थिए । घरजग्गा लिलाम गरेको भन्दै तालाबन्दी गरेको बताइएको छ । यस्तै केही दिन अघिमात्रै प्रक्रिया छलेर बहुमूल्य जग्गा सस्तोमा लिलाम गरेको भन्दै ऋणीले कृषि विकास बैंक लहान शाखामा तालाबन्दी गरेका थिए ।

कर्जा असुलीमा रहेका प्रमुख समस्या तथा चुनौती

अर्थतन्त्रमा आर्थिक मन्दी बढ्दै जाँदा कर्जा असुली चुनौतीपूर्ण बन्दै गएको छ ।

विभिन्न व्यवसायीहरुको आर्थिक मन्दीको कारणले अपेक्षित आम्दानी नबढ्दा सोही अनुसारको कर्जा असुलीमा समस्या सिर्जना भएको छ ।

केही सामाजिक अभियन्ताहरुले बैंकको कर्जा भुक्तानी गर्नु पर्दैन भन्ने जस्ता भ्रमहरु फैलाउँदा कर्जा असुलीको कार्य चुनौतीपूर्ण रहेको छ ।

हाइपोथेकेशन कर्जा असुलीको लागि सम्पत्ति व्यवस्थापन कम्पनीको अभाव हुँदा कर्जा असुली चुनौतीपूर्ण रहेको छ।

आन्तरिक ऋण, सम्बन्धित पार्टी ऋणको कर्जा असुली चुनौतीपूर्ण बन्दै गएको छ ।

कर्जा असुलीका विभिन्न मुद्दाहरु ऋण असुली न्यायाधीकरणमा लामो समयसम्म विचाराधीन रहनु ।

लिलामी प्रक्रिया जटिल हुनु आदि जस्ता समस्याको कारणले पछिल्लो समयमा कर्जा असुलीको कार्य चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।