बैंकिङ खबर/ मनाङ चामेबाट हराएका कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्। मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन भएका हुन्।
भ्युटावर हेर्नका लागि तारणी सहकर्मी अर्जुन खड्कासँग गएका थिए। खड्काले भ्युटावर चढ्न नसक्ने भनेपछि बीच बाटोबाट फर्केका उनी त्यसपछि पन्त एक्लै भ्युटावरको उकालो चढेका हुन्।
भ्युटावरको उकालो चढेका पन्त साँझ ४ः४५ मिनेटमा खड्कासँग कुराकानी भएको पन्तका परिवारले बताएका छन् । राति अबेरसम्म नआएपछि खड्कालगायत बैंकका कर्मचारीले कुरा गर्न खोजे, तर राति १०ः४५ बजेसम्म मोबाइल फोनमा घण्टी बजे पनि फोन उठाइएन, त्यसपछि ‘स्विचअफ’ भयो।
सम्पर्कविहीन भएको खबर कात्तिक १० गते राति ११ः०० बजे बैंकमा कार्यरत अर्चना बुढाथोकीले फोन गरेर जानकारी दिएको तारणीका भाइ विष्णुदत्त पन्तले बताए।
अहिले पन्त परिवारमा तनावको स्थिति छ। उनका अनुसार प्रहरीले अन्य सुरक्षा निकायको सहयोगमा तारणी हराएको दिनदेखि नै १२ दिनसम्म खोजतलास गरे पनि भेट्टाउन सकेको छैन। तारणीको मोबाइलको अन्तिम लोकेसन मनाङको चामेमै देखिएको छ। बैंकका तर्फबाट ड्रोन क्यामेरा र हेलिकप्टरको सहायताले खोजतलास गरे पनि तारणीको अत्तोपत्तो छैन।