November 20th, 2024

दुर्गा प्रसाईंमाथि बैंकरलाई धम्क्याएर फिरौती मागेको आरोपमा समेत अनुसन्धान हुने

बैंकिङ खबर/ साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभलगायत आधा दर्जन कसुरमा अनुसन्धान सुरु गरेको छ । काठमाडौँ जिल्ला अदालतले दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । म्याद थपका लागि अदालत उपस्थित गराइएकाे थियाे ।

झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरमा अनुसन्धान थालेको हो ।

विभिन्न व्यक्ति प्रयोग गरी अरूलाई धम्क्याएर रकम असुलीको विषयमा प्रसाईंमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान थालिएको हो । ‘दुर्गा प्रसाईंको मान्छे हुँ’ भन्दै विभिन्न व्यक्तिले बैंकर र व्यवसायीलाई धम्क्याएर रकम मागेको जाहेरी सीआईबीमा परेको छ । बैंकर र व्यवसायी गरी ४ जनाले अपरिचित व्यक्तिबाट धम्की आएको भन्दै साताअघि सीआईबीमा जाहेरी दिएका थिए ।