October 21st, 2024

अब अनलाइनबाटै कम्पनी दर्ता : हट्यो कार्यालय धाउनुपर्ने बाध्यता

बैंकिङ खबर/ अब घरबाटै कम्पनी दर्ता गर्न सकिने भएको छ । कम्पनी दर्ता प्रक्रिया पूर्ण रूपमा अटोमेशनमा गएको हो । अब कम्पनी दर्ताका लागि सेवाग्राहीहरूलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने बाध्यता हटेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । नयाँ सफ्टवेयर प्रणालीको सुरुवातसँगै कम्पनी दर्तामा कागजको प्रयोग पनि हटेको छ ।

कम्पनी दर्ता प्रक्रियामा सेवाग्राहीको तर्फबाट पनि डिजिटल हस्ताक्षर लागू गरिनेछ । कम्पनी रजिष्ट्रारको कार्यालयले अटोमेशन प्रणाली लागू गरेपछि सेवाग्राहीले अब आफू उपस्थित नभई अनलाइनबाटै कम्पनी दर्ताको प्रक्रिया पूरा गर्न सक्ने छन् ।

अब कम्पनी दर्ताका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात र डाटा अनलाइनमार्फत पेश गर्न सकिन्छ । कम्पनी दर्ताको प्रमाणपत्र पनि अनलाइनबाटै डाउनलोड गर्न सकिन्छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले डिजिटल हस्ताक्षरको प्रणाली लागू गरेर कम्पनी दर्तामा कागजी प्रक्रिया हटाएको छ । कार्यालयले अब कम्पनी दर्तामा सेवाग्राहीहरूको तर्फबाट पनि डिजिटल हस्ताक्षर लागू गर्ने तयारी गरिरहेको छ ।

त्यस्तै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी भए पनि अदालतको अन्तरिम आदेशका कारण यस प्रावधानलाई हाललाई स्थगित गरिएको छ । कम्पनी दर्तामा अटोमेशन लागू भएसँगै सरकारले ई–गभर्नेन्स लागू गर्ने दिशामा थप प्रगति गरेको छ ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमार्फत सुशासन प्रवर्द्धन गर्न अटोमेशनको सुरुवात महत्त्वपूर्ण कदमको रूपमा लिइएको अधिकारीहरूले बताएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले सूचना प्रविधिको थप उपयोग गर्दै कम्पनी प्रशासनका अन्य सेवाहरूलाई पनि पूर्ण रूपमा अटोमेशनमा लैजाने योजना बनाइरहेको जनाएको छ ।

कम्पनीको सूचना र डेटा आवश्यक पर्ने अन्य सरकारी निकायहरूले कम्पनी रजिष्ट्रारको सिस्टमसँग इन्टिग्रेसन गरेर आफ्नो सेवा पनि प्रभावकारी बनाउन सक्ने गरी यो प्रणाली तयार गरिएको छ ।

हाल कम्पनी दर्ताको समयमा नै आन्तरिक राजस्व कार्यालयबाट स्वतः प्यान नम्बर प्राप्त हुने व्यवस्था गरिएको छ । हालसम्म नेपालमा झण्डै ३ लाख ५० हजार कम्पनीहरू दर्ता भइसकेका छन्, जसमध्ये करिब १० हजार कम्पनीहरू खारेज भइसकेका छन् । हाल दैनिक रूपमा लगभग १०० नयाँ कम्पनीहरू दर्ता भइरहेका छन् ।