बैंकिङ खबर/ ज्योति विकास बैंकले विभिन्न कार्यक्रम गर्दै आफ्नो १६औँ वार्षिकोत्सव मनाएको छ । बैंकले १७औँ वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो नयाँ आधिकारिक वेबसाइटको पनि औपचारिक शुभारम्भ गरेको छ । परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री रहेको दाबी गरिएको उक्त वेबसाइटको बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उद्घाटन गरेका हुन् ।
वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गर्यो । सो कार्यक्रममा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारण गरी कुल ५० जनाले रक्तदान गरेका थिए ।
त्यस्तै, वार्षिकोत्सव समारोहमा विगत १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा कार्यरत रही योगदान दिएका २७ जना कर्मचारीलाई सम्मानित गरिएको छ । सम्मानित सबै कर्मचारीहरूलाई अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संयुक्त रूपमा पदक तथा कदर–पत्र प्रदान गरेका थिए ।
सो अवसरमा बैंकका अध्यक्ष खड्काले भनेे, ‘बैंकको १६ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिनुहुने समस्त ग्राहकवर्ग, शेयरधनीहरू, नियामक निकायहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभेच्छुकहरूप्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । साथै, अबको यात्रामा पनि सोहीअनुरुपको सहयोग प्रदान गर्न आग्रह गर्दछु ।’ खड्काले बैंक सामाजिक समृद्धिका साथै कर्मचारी विकासका लागि पनि अनवरत रूपमा सक्रिय रहेको र कर्मचारी दक्षता विकासका निम्ति विभिन्न वैदेशिकलगायतका तालिमहरूमा सहभागी भएको कुरा पनि उजागर गरे । उनले आगामी दिनहरूमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधाहरू प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वका विषयमा प्रकाश पारे । उनले बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले बैंकद्वारा उद्यमशीलता विकास, रोजगार सिर्जना, सीप अभिवृद्धि र समाज परिवर्तनको परिकल्पनाका साथ गरिएका विभिन्न कार्यक्रमका बारेमा पनि प्रकाश पारे ।
बैंकका अध्यक्ष खड्काले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको सो वार्षिकोत्सव कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरू, पूर्वसञ्चालकहरू, कर्मचारीवर्ग र ग्राहकहरूको उपस्थिति रहेको थियो । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।