July 24th, 2024

चुक्ता पुँजी २० करोड रहेको प्रभु स्टक मार्केटको कारोबार शुरु

बैंकिङ खबर/प्रभु बैंकको शतप्रतिशत स्वामित्व रहेको प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन भएको छ । प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लीलाप्रकाश सिटौलाले बुधबार एक समारोहका बीच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् ।

सो अवसरमा अध्यक्ष सिटौलाले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित प्रभु स्टक मार्केटले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजीबजारको विकासमा आफ्नो तर्फबाट प्रभु स्टक मार्केटले सक्दो योगदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापना भएकोमा खुसी व्यक्त गरे ।

प्रभु स्टक मार्केटका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाददिँदै ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्रीसम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाउँबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौंको बुद्धनगरमा, नयाँबानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।