July 24th, 2024

बैंकिङ कसुरसम्बन्धी १२ वटा मुद्दामा फरार प्रतिवादी पक्राउ

बैंकिङ खबर/ बैंकिङ कसुरसम्बन्धी एक दर्जन मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–२ घर भएका रामशरण बस्नेत छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनलाई २ दिन कैद र ६ लाख २४ हजार जरिवाना भएको फैसला कार्यान्वयन गराउन पक्राउ गरेका हुन् ।

काठमाडौँ महानगरपालिका–२ लाजिम्पाट बस्ने ३६ वर्षका बस्नेतलाई नख्खुबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । अदालतबाट फैसला भएका ८ वटा र चालु अवस्थाको ४ वटा मुद्दामा उनी फरार थिए ।

दीपक लामिछानेको जाहेरीले उच्च अदालत पाटनबाट फैसला भएको मुद्दामा उनीविरुद्ध २ दिन कैद र ४ लाख २४ हजार जरिवाना तथा क्षतिपूर्ति गराउने फैसला भएको छ । सो मुद्दामा उनी पक्राउ परेका हुन् ।

तर, उच्च अदालत पाटनले उनलाई ८ वटा मुद्दामा ३३ लाख ३१ हजार जरिवाना र १३ दिन कैद सजाय हुने फैसला गरेको भेटिएको छ । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा थप ४ वटा मुद्दा दर्ता भएको भेटिएको एसएसपी भट्टराईले बताए । मुद्दा फैसला पछि उनी ठाउँ परिवर्तन गरेर लुकेर बसेको अनुसन्धानमा संलग्न इन्स्पेक्टर भाष्कर चन्दले जानकारी दिए ।