बैंकिङ खबर/ प्रहरीले अन्य व्यक्तिको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोली बैंकिङ कसुरजन्य कार्य गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दोलखाको साविक नाम्दु गाविस वडा नं.४ हाल परिवर्तित बैतेश्वर गाउँपालिका–६ घर भई हाल काठमाडौंको चाबहिल बस्ने वर्ष ३४ को ध्रुव कृष्ण शर्मा रहेका छन्।
उनले धनुषा जिल्ला शान्तिपुर गाविस वडा नं.६ घर भएका ना.प्र.नं. २८८८१८१८ जारी मिति २०६३/०७/१६ र (दोस्रो प्रतिलिपि मिति २०८०/०२/०७) धारक सन्तोष सिंह दनुवारको नागरिकता दुरुपयोग गरी सन् २०२२/०४/०३ मा मुक्तिनाथ विकास बैंक लिमिटेडको शाखा कार्यालय ठिमीमा खाता खोलेको प्रहरीले जनाएको छ।
बैंकलाई झुक्यानमा पारी आफ्नो फोटो र मोबाइल नम्बर समेत राखी खाता खोलेर उक्त खाताबाट चेकबुक समेत निकाली सो चेकबुकको दुरुपयोग गरेको भन्दै मुक्तिनाथ विकास बैंकले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन ३ गते उनलाई चाबहिलबाट पक्राउ गरेको हो। शर्मामाथि थप अनुसन्धान एवम् कारबाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको छ।