बैंकिङ खबर/ एक वर्षको अवधिमा करिब ६२ अर्ब रूपैयाँ विदेशी लगानीका लागि प्रतिबद्धता आएको छ । सरकारले लगानी सम्मेलनको आयोजना गरेर विदेशी लगानी ल्याउन आग्रह गरे पनि गत आर्थिक वर्षमा ६१ अर्ब ९० करोड रूपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार असारमा मात्रै साढे १७ अर्ब रूपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । प्रत्यक्ष वैदेशिक लगानीतर्फ कुल ४०७ कम्पनीलाई स्वीकृति दिइएको विभागले जनाएको छ । गत आवमा ६ वटा ठूला, १५ वटा मध्यम र ३८६ वटा साना उद्योगको लागि वैदेशिक लगानी स्वीकृत भएको हो । यी परियोजनाबाट २२ हजार ९४ जनालाई रोजगारी दिने अनुमान छ ।
गत वैशाखबाट कार्यान्वयनमा आएको अटोमेटिक रुट अर्थात स्वाचालित प्रणालीमार्फत १६ अर्ब १९ करोड ९४ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ यस प्रणालीमार्फत कूल १३९ परियोजना स्वीकृत भएका थिए ।
गत असारमा मात्रै ४८ वटा उद्योगका लागि १७ अर्ब ४८ करोड ४७ लाख बराबरको लगानी प्रतिबद्धता स्वीकृत गरिएको छ। जसबाट १९४८ जनाले रोजगारी पाउने विभागले जनाएको छ । असारमा ४५ वटा साना उद्योग तथा एउटा ठूलो तथा दुई वटा मझौला उद्योगको लागि लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
एक वर्षमा स्वीकृत औद्योगिक परियोजना मध्येमा पर्यटन क्षेत्रका ४८ प्रतिशत, ३३ प्रतिशत सेवा क्षेत्र, ११ प्रतिशत उत्पादन क्षेत्र, ३ प्रतिशत सूचना तथा प्रविधि, २ प्रतिशत परियोजना कृषि क्षेत्रमा आधारित रहेका छन्।
गत आवकोे एफडीआईको ठूलो हिस्सा पर्यटनमा केन्द्रित देखिन्छ । कुल लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै पर्यटन उद्योगमा आएको छ। यस क्षेत्रमा १९७ उद्योगको लगानी स्वीकृत भएको छ। सेवा क्षेत्रमा १३३, उत्पादनमूलक उद्योगमा ४६, सूचना प्रविधिमा ११, पूर्वाधारमा ६, कृषिमा ८ र खानीमा तीन वटा उद्योगको लगानी स्वीकृत भएको विभागले जनाएको छ।
विभागका अनुसार हालसम्म ६ हजार २६७ उद्योगहरुका लागि ५ खर्ब ११ अर्ब ८९ करोड बराबरकोे लगानी प्रतिबद्धता आएको जनाइएको छ । ती उद्योगहरुबाट ३ लाख ३१ हजार ६ सय ३ जनाले रोजगारी पाउने विभागको भनाइ छ ।
गत आर्थिक वर्षमा विभागले व्यावसायिक भिसाअन्तर्गत २ हजार २२९ जना लगानीकर्ता, ४०९ जना प्रतिनिधि र एक हजार ७ जना आश्रितका लागि सिफारिस गरेको छ । गत असारमा मात्रै विभागले १४४ जना लगानीकर्ता, ४३ जना प्रतिनिधि र ७० जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।