बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बुधबार संघीय संसद्का सदस्यहरूका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । संघीय संसद्को सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल र नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहालले माननीय संघीय सांसदहरूलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रूपमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले यस्तो कार्यक्रमको आवश्यकता बढेको बताउँदै वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले बैंकको वर्तमान अवस्था एवं बैकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पारेका थिए ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर नेपालले वित्तीय नीति, मौद्रिक नीति तथा अन्य आर्थिक मुद्दाका बारेमा तथा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष दाहालले व्यक्तिगत वित्तपोषण र बजेटिङका बारेमा प्रकाश पारेका थिए ।
उक्त कार्यक्रममा पैसाको महत्त्व, पैसाको आदर्श उपयोग, मुद्राको महत्त्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बिचको सम्बन्ध लगायतका विषयमा संघीय सांसदहरूले जिज्ञासा राखेका थिए ।उक्त कार्यक्रममा संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्का, उपसचिव नागेन्द्र चौधरी, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मी लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।