July 5th, 2024

क्रिप्टोकरेन्सी कारोबार : विराटनगरबाट ६ जना पक्राउ


बैंकिङ खबर/अवैध क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले मोरङको विराटनगरबाट ६ जनालाई पक्राउ गरेको छ। क्रिप्टोकरेन्सी कारोवारको आरोपमा बिहीबार विराटनगर महानगरपालिका–१५ बाट ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका–११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका– ३ का २० वर्षीय दिपक मण्डल, मोरङको जहदा गाउँपालिका–१ का २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर–१६ का ३० वर्षीय जनार्दन यादव र २६ वर्षीय सिकिन्दर यादव तथा सप्तरी नर्घो घर भई विराटनगर– १५ बस्दै आएका ३३ वर्षीय संजिवकुमार मण्डल रहेका छन्।

विराटनगर–१५ मा रहेको सोहिता कर्णको घरको दोस्रो तल्लामा ४ वटा कोठा भाडामा लिएर क्रिप्टोकरेन्सी कारोवार गरिरहेका उनीहरुलाई असार १९ गते कोशी प्रदेश प्रहरीको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त्त टोलीले पक्राउ गरेको हो।

प्रहरीले छापा मार्ने क्रममा गिरोहको कोठाबाट १६ थान मोवाइल, भारतीय नम्वरका १३ थान र नेपाली नम्बरका १९ थान सिमकार्ड, विभिन्न बैंकका चेक २८ थान, बिभिन्न बैंकमा रकम जम्मा गरेको भौचर १५ थान, ईलेक्ट्रीक फ्रिंगर प्रिन्ट तीन थान, मोटरसाइकल तीन थान र नगद एक हजार ६ सय रुपैयाँ बरामद भएको जनाएको छ।