बैंकिङ खबर/६० किलो सुन तस्करीमा दुई मोबाइल भुक्तानी प्रदायक कम्पनी पेवेल नेपाल र सजिलो पे मार्फत ८० अर्ब ९६ करोड ५३ लाख ६६ हजार १ सय १५ रुपैयाँ दाबी गरिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा उक्त दुई कम्पनीबाट सुन तस्करीमा यो बराबरको रकम भुक्तानी भएको उल्लेखसहित बिगो र जरिवाना मागदाबी गरिएको हो ।
पेवेल नेपाल प्रा.लि.का सञ्चालक तथा कर्मचारी प्रतिवादीहरू भीम प्रसाद तिमल्सिना, नेपाल भूषण चन्द, पाल्साङ लामा, खेलानन्द प्रसाद सिंह, सत्येन्द्र श्रेष्ठ, प्रज्वल आचार्य, सुरज सम्शेर ज.ब.राणा र मिलन भन्ने मिन बहादुर दुलाल समेत आठ जना विरुद्ध मुद्दा दायर भएको छ। उनीहरूसँग ६१ अर्ब ५० करोड २७ लाख ९ हजार २ सय ३३ कायम गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) बमोजिमको कसुरमा सोही ऐनको दफा ९६(१) बमोजिम सजायको मागदावी लिएको अभियोग पत्रमा उल्लेख छ।
सजिलोपे पेमेन्ट सर्भिसेज प्रा.लि.का सञ्चालक तथा कर्मचारी प्रतिवादीहरू सुनिल जाकीबन्जा, फुनछुक डाक्पा आथुपछाङ, काश्यप मानन्धर, रोशनबाबु मल्ल समेत चार जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूसँग १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७ सय ८५ रुपैयाँ बिगो दाबी गरेको छ। उनीहरूलाई पनि अन्य अभियोगसँगै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) बमोजिमको कसुरमा सोही ऐनको दफा ९६(१) बमोजिम सजायको मागदावी थप लिइएको छ।