July 2nd, 2024

मुक्तिनाथ क्यापिटल र यात्री सुइट्स एन्ड स्पाबीच सम्झौता

बैंकिङ खबर/ यात्री सुइट्स एन्ड स्पा प्रालिले वित्तीय परामर्श र व्यवस्थापन सेवाका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गर्न सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा यात्री सुइट्सका तर्फबाट कम्पनी अध्यक्ष च्युङ गुरुङ र मुक्तिनाथ क्यापिटलका कार्यकारी प्रमुख अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

ठमेलमा रहेको यात्री होटेलको पुँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक स्रोतको व्यवस्थापन, व्यावसायिक योजना, होटेलको बजारीकरणलगायत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने कार्यका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडले परमर्शदाताका रूपमा सेवा प्रदान गर्ने बताइएको छ ।

होटेल निकट भविष्यमा नै चारतारेमा रूपान्तरण हुनेसमेत कम्पनीले जनाएको छ । होटेलमा सुविधासम्पन्न ९९ कोठा, तीन रेस्टुरेन्ट, एक स्पा र आठ सेमिनार हलहरू रहेका छन् । होटेलले निकट भविष्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न चारतारे होटेलका रूपमा रूपान्तरण गरी गुणस्तरीय सेवा–सुविधा प्रदान गरिने जनाएको छ ।

साथै, आर्थिक वर्ष २०८१/८२ मा वर्ष होटेलले थप ४८ वटा सुविधासम्पन्न कोठा थप गरी एक सय ४७ वटा पुर्‍याउनुका साथै रुफटप स्विमिङ पुल, जिम क्लबलगायत लाउन्ज बारसमेत सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीका अध्यक्षले जानकारी गराएका छन् ।