बैंकिङ खबर/ साढे चार दशक बैंकिङ क्षेत्रमा लगानी गरेका राजनसिंह भण्डारीले आत्मपरक पुस्तक ‘आफैंलाई नियाल्दा’ बजारमा ल्याएका छन् । पूर्वमन्त्री एवं सांसद शरतसिंह भण्डारी, सांसद चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं संविधानसभाका सदस्य तिलक रावल, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति डा. लोकविक्रम थापा र खेमबहादुर रायमाझीले शनिबार संयुक्त रूपमा उक्त पुस्तक विमोचन गरे ।
राष्ट्र बैंकमा २६ वर्ष बिताएका लेखक भण्डारीले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएर बिदा लिएका थिए । त्यसपछि प्राज्ञिक क्षेत्रमा सक्रिय बन्न खोजिरहेका बेला अनायासै सिटिजन्स बैंकको स्थापनासँग जोडिन्छन् र त्यसका लागि महत्त्वपूर्ण पहलकदमी लिन्छन् । अन्ततः प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिको अध्यक्ष गरी १७ वर्ष यसै बैंकमा खर्च गर्छन् । यस अवधिमा उनले देखे–भोगेका धेरै रोचक र महत्त्वपूर्ण घटनाक्रम पुस्तकमा समेटेका छन् ।
यो कृति नेपालको बैंकिङ क्षेत्रको महत्त्वपूर्ण कालखण्डको साक्षीले लेखेको इतिहास पनि हो । मौद्रिक÷वित्तीय तथा बैंकिङ क्षेत्रमा कार्यरत ‘क्यास काउन्टर’का कर्मचारीदेखि सीईओ, व्यवस्थापनका विद्यार्थी, उद्यमशील युवा वा आमपाठक जो–कोहीले पनि आ–आफ्नो ढंगले किताबले उजागर गरेका विभिन्न सन्दर्भ वा प्रसंगसँग कहीं न कतै आफूलाई पाउँछन् ।
प्रकाशक संस्था मिनेट मिडियाका प्रकाश रिमालका शब्दमा, यो किताब आम रूपमा लेखिने आत्मकथा वा जीवनपरक ‘निबन्ध’ भन्दा फरक छ । पूर्वमन्त्री शरतसिंह भण्डारीले यस कृतिलाई एक पेसाकर्मीको इमानदार अभिव्यक्तिको संज्ञा दिएका छन् । लेखक भण्डारीको निर्भीक स्वभाव र पेसागत दक्षता दुवै गुण पुस्तकमा अभिव्यक्त भएको पूर्वगभर्नर तिलक रावलले जनाए ।
कूल १३ परिच्छेद र ३१२ पृष्ठको यस पुस्तकको मूल्य १ हजार रुपैयाँ राखिएको प्रकाशक रिमालले बताए । पुस्तक बिक्रीबाट प्राप्त निश्चित आम्दानी शिवचन्द्र स्मृति प्रतिष्ठानमार्फत विपन्न परिवारका मेधावी छात्रछात्राको शिक्षामा खर्च गरिनेछ ।