June 4th, 2024

सानिमा बैंक मान्म शाखाद्वारा नरहरीनाथमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/सानिमा बैंक लिमिटेड, शाखा कार्यालय मान्मद्वारा बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम कालीकोटस्थित नरहरीनाथ गाउँपालिकाको लालुमा सम्पन्न भएको छ । सानिमा बैंक, मान्म शाखा टिम र कार्यालय प्रमुखको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा सानिमा बंैक, मान्म शाखाका प्रमुख मछिन्द्र कुमार भण्डारीद्वारा सहभागी १५ वटा महिला समुहहरु माझ बैंकिङ तथा सुरक्षित वित्तीय कारोबार सम्बन्धी वित्तीय साक्षरताको आधारभूत शिक्षा प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नरहरीनाथ गाउँपालिका वडा नं ८ र ९ को वडाअध्यक्षद्वय प्रदिप बोहरा, लाल बहादुर विष्ट तथा जिल्ला प्रशासन कार्यालय कालिकोटका कर्मचारी लक्ष्मीरुद्र धितालको विशेष उपस्थितिमा सम्पन्न सो कार्यक्रममा सहभागी महिला समुहहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सहभागीहरुको जिज्ञासासहितको अन्तरक्रिया कार्यक्रम उत्साहजनक रहेको थियो ।

बैंकिङ क्षेत्रको योगदान, स्रोतसाधनको पहिचान तथा सदुपयोग, बैंक खाता सञ्चालन, वित्तीय जोखिम न्यूनीकरणका उपायहरु, सफा नोटको नीति तथा उचित जतन, विद्युतीय बैंकिङ कारोवारको महत्व तथा आवश्यकता जस्ता वित्तीय साक्षरताका आधारभूत विषयहरु उक्त कार्यक्रमहरुमा प्रस्तुत गरिएको थियो ।

यस्ता कार्यक्रमबाट वित्तीय ज्ञान प्राप्त गर्नुका साथै सरल बैंकिङ कारोवारमा महिलाहरुको सहभागिता उल्लेखनीय रुपमा बढ्दै जाने कुरामा विश्वस्थ हुन सकिने वडा अध्यक्ष प्रदिप बोहराले बताए । यसैगरी बैंकद्वारा गत हप्तापनि जनप्रभात मा.वि सेरावाडाका विद्यार्थीहरुमाझ यस्तै किसिमको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो ।