
बैंकिङ खबर/वीरगन्जमा रहेको नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। मंगलबार बिहान वीरगन्जको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमार बिक्रम थापाले पक्राउ परेकाहरुको नाम भने खुलाएनन् । नबिल बैँकले १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको थियो।
पर्सा प्रहरीले संकलन गरेको विवरणअनुसार, चोरको एक समूहले आइतबार बिहान करिब चार बजे बैंकको ताल्चा फुटाई भित्र पसेको देखिन्छ। वेल्डिङ गर्ने मेसिनले टिनको बक्सा काटेर नगद निकालेको र बोरामा हालेर लगेको प्रहरीको भनाइ छ।
बैंकले प्रहरीमा दिएको विवरणअनुसार, टिनमा एक सय र बीस रुपैयाँ दरका नोट थिए। चोरी गरी फर्किने क्रममा गेटमा नयाँ ताल्चा लगाएर चोर भागेको पाइएको छ।
सोमबार बिहान बैंकका गार्डले ताल्चा खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको रोहबरमा ताल्चा फुटाएर भित्र प्रवेश गर्दा चोरी भएको पाइएको थियो। चोरीमा करिब ७ जनाको समूह सहभागी भएको पाइएको छ।