बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजना अन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ ।
वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।
यस योजना अन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्ड समेत निशुल्क जारी गरिनेछ । इको–फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ ।
यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मत सम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।