April 22nd, 2024

बहिरा युवाहरुलाई बैंक तथा वित्तीय साक्षरतासहित नेतृत्व विकास तालिम

बैंकिङ खबर/राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा युवाहरुलाई बैंक तथा वित्तीय साक्षरतासहित, सशक्तिकरण र नेतृत्व विकास तालिम दिन शुरु गरेको छ । राष्ट्रिय युवा परिषद्सँग सहकार्य गर्दै महासंघले आइतबारदेखि राष्ट्रिय महिला आयोगको सभाहलमा पाँच दिने तालिम दिन शुरु गरेको हो ।

‘परिवर्तनका लागि युवा, सिर्जनशिल र जिम्मेवार बहिरा’ भन्ने नाराका साथ आयोजित तालिममा ४० जना बहिरा युवायुवतीहरुको सहभागिता रहेको छ । परिषद्का प्रशासकीय प्रमुख दिनेश घिमिरेले ब्यानरमा हस्ताक्षर गर्दै तालिमको शुभारम्भ गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख घिमिरेले राष्ट्रिय युवा परिषद्ले युवा लक्षित रहेर विभिन्न सशक्तिकरणका काम गर्दै आएको बताए । यस्तै उनले राष्ट्र निर्माणमा बहिरा युवाहरुको योगदान रहेको भन्दै उनीहरुलाई अझ सशक्त बनाउन परिषद्ले विभिन्न नेतृत्व विकास सम्बन्धी कार्यक्रम गर्ने प्रतिबद्धता जनाए ।

उनले युवाहरुलाई परिषद्ले बनाएका विभिन्न सञ्जालाहरुमा जोडिन समेत आग्रह गरे । युवा परिषद्ले प्रदेश तहमा समेत काम गर्दै आएको भन्दै प्रमुख घिमिरेले युवा लक्षित उद्यमशिलता र नेतृत्व क्षमता विकासका कार्यहरुमा परिषद्ले दूतको रुपमा काम गर्दै आएको बताए ।

कार्यक्रममा राष्ट्रिय बहिरा महासंघका अध्यक्ष सन्तोष केसीले महासंघले परिषद्सँग सहकार्य गर्दै पहिलो पटक यस कार्यक्रमको आयोजना गरिएको बताए । उनले राष्ट्र निर्माणमा बहिरा युवाहरुको पनि महत्वपूर्ण भूमिका रहने भन्दै उनीहरुलाई शिक्षासँगै आत्मनिर्भर बन्न क्षमता र सीप विकास अनिवार्य रहेको बताए । अध्यक्ष केसीले सहभागीलाई तालिम अवधिमा पूर्णरुपमा सक्रिय भइ दक्ष बन्न समेत सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय बहिरा महासंघकी वरिष्ठ उपाध्यक्ष सत्यदेवी वाग्लेले सीप, तालिम र रोजगारीका विषयमा ज्ञान नभएका युवाहरुलाई तालिममा सहभागी गराइएको बताइन् । तालिमले बहिरा युवाहरुलाई समक्ष बनाउनुका साथै रोजगारीको क्षेत्रमा पहुँच अभिवृद्धि गर्ने उनले विश्वास व्यक्त गरिन् ।

dav

महासंघका महासचिव सिताराम ओझाले पहिलोपटक परिषद्ले यसरी बहिरा समुदायलाई दक्ष बनाउने तालिम दिएकोमा खुसी व्यक्त गरे ।
तालिमको पहिलो दिन आइतबार बहिरा समुदाय र बहिरा सञ्जालको आवश्यकता, पहिचान, टोली र द्वन्द्व व्यवस्थापनका बारेमा प्रशिक्षण दिइएको छ ।

यस्तै दोस्रो दिन सोमबार युवा र उद्यमशीलता, वैदेशिक रोजगार, ठगी, डिजिटल अनलाइन कारोबार ठगी तथा सामाजिक सञ्जालको दुरुपयोग, नियन्त्रण र जनवकालत सम्बन्धी विधि र प्रक्रियाका बारेमा प्रशिक्षण दिइनेछ ।

यस्तै तेस्रो दिन मंगलबार स्थानीय, प्रदेश र संघीय सरकारले प्रदान गर्ने युवा अनुदान र उद्यमशीलता, संस्थागत विकासका आधारहरु, परियोजना लेखन कार्य र क्षमता विकासका बारेमा प्रशिक्षण दिइने छ ।

यस्तै चौथो दिन बुधबार बैंक तथा वित्तीय साक्षरता सम्बन्धी तालिम, योजना तथा वार्षिक बजेट तर्जुमा प्रस्तुतीकरण र उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिइने छ । अन्तिम दिन बिहीबार बहिरा युवाहरुको रोजगारी, चुनौती र समाधानका उपायहरु, साथी र जीवनोपयोगी सीपका बारेमा प्रशिक्षण दिइने आयोजक राष्ट्रिय बहिरा महासंघ नेपालले जनाएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]