
बैंकिङ खबर/‘इन्साइडर ट्रेडिङ’जस्तो गैरकानुनी गतिविधिबाट सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहरसहित विशेषले गुरुप्रसाद न्यौपानेलाई सजाय सुनाएको छ। आइतबार विशेष अदालतले न्यौपानेलाई एक वर्ष कैद सजाय हुने फैसला गरेको हो।
विशेषले सम्पत्ति शुद्धीकरण अभियोगमा रिडी हाइड्रोपावर डेभलपमेन्ट प्रालिका अध्यक्ष रहेका न्यौपानेलाई ६ चैतमै दोषी ठहर गरेको थियो। तर, आइतबार बल्ल सजाय निर्धारण गरिएको हो।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गरेको फैसलामा प्रतिवादी न्यौपानेले एक करोड ९९ लाखभन्दा बढी रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको ठहर गरेको हो।
रिडीको सञ्चालक समिति अध्यक्ष रहेका न्यौपानेले ‘सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पर्न सक्ने महत्वपूर्ण जानकारी हुँदाहुँदै आफ्नो नाममा कायम रहेको उल्लेख्य संख्याको सेयर खरिदबिक्री गरेको’ विशेषको ठहर छ।
यसबाट धितोपत्र बजारमा प्रतिकूल प्रभाव पर्न जाने ठहरसहित विशेषले उनलाई एक वर्ष कैदसहित बिगोको दोब्बर जरिवाना हुने फैसला गरेको छ। विशेषले यस मुद्दामा एक करोड ९९ लाख रुपैयाँभन्दा बढी बिगो निर्धारण गरेको छ। न्यौपानेको सम्पत्तिबाट बिगोबराबरको सम्पत्ति जफतसमेत हुने भएको छ।
ज्येष्ठ नागरिक भएकाले र प्रतिवादीको सामाजिक–पारिवारिक दायित्वसमेतलाई विचार गरी उनको कैद घटाइएको हो। सुरुमा दुई वर्ष कैद सजाय तोकिएकोमा प्रतिवादी न्यौपानेको उमेर हेरेर विशेषले ५० प्रतिशत कैद घटाएको संक्षिप्त फैसलामा उल्लेख छ।




