बैंकिङ खबर/ एनएमबि बैंकको कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिकास्थित पकडी शाखा कार्यालयले मायादेवी गाउँपालिकाको स्वास्थ्य विभागलाई कम्प्युटर प्रदान गरेको छ । कार्यकालको कार्यसम्पादनलाई सरल, छिटोछरितो र व्यवस्थित गराउन सहयोग पुग्ने उद्देश्यले ६ थान कम्प्युटर प्रदान गरिएको एनएमबि बैंक पकडी शाखा प्रबन्धक गोविन्द पन्थीले जानकारी दिए ।
एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली, एरिया म्यानेजर प्रभात सिंह खाती र पकडी शाखा प्रबन्धक गोविन्द पन्थीले गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमान, प्रशासकिय अधिकृत सविन सिंह चौधरी, स्वास्थ्य प्रमुख महेन्द्र यादवलाइ ६ थान कम्प्युटर हस्तान्तरण गरेका थिए । सो कम्प्युटरहरु मायादेवी गाउँपालिका अन्तरगतकै स्वास्थ्य विभागले आफ्नो दैनिक कामकारबाहीमामा प्रयोग गर्नेछ ।
गाउँपालिका वलीउद्दिन मुसलमानले एनएमबि बैंकले उत्कृष्ट बैकिङ्ग सेवासँगै सामाजिक उत्तरदायित्व अन्तरगत ६ थान कम्प्युटर वितरण गरेकोमा सराहना गर्दै आगामी दिनमा गाउँपालिका र बैंक मिलेर अगाडि बढ्ने उल्लेख गरे । त्यस्तै एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले नेपालको एक अग्रणी वाणिज्य बैंक एनएमबि बैंकले मायादेवी गाउपालिकाको स्वास्थ्य विभागलाई कम्प्युटर सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै सामाजिक उत्तरदायित्व अन्तरगत एनएमबि बैंकले विगतमा विभित्र ठाउँमा महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको र आगामी दिनहरुमा पनि सहयोगहरु गरिने जानकारी दिए ।
एनएमबि बैंक लुम्बिनी प्रदेश क्षेत्र(दुई)का एरिया म्यानेजर प्रभात सिंह खातीले पकडी क्षेत्रमा २०७५ सालदेखि एनएमबि बैंकले उत्कृष्ट बैंकिङ्ग सेवा दिँदै आएको र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु पनि सँगसँगै अगाडि बढाइने बताए । उनले छिटोछरितो, अत्यधुनिक र ग्राहकमैत्री बैकिङ्ग सेवा लिन एनएमबि बैंकमार्फत कारोबार गर्न सबैलाई आग्रह गरे ।




