बैंकिङ खबर/काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ६ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२ बस्ने वर्ष ३३ को अमृत थापा रहेका छन्।
उनीविरुद्धको बैंकिङ कसुर मुद्दा (मु.द.नं. ०७९–सीबी–११०१) मा उच्च अदालत पाटनबाट २०८० जेठ ५ गते ६ दिन कैद र जाहेरवालालाई १६ लाख रुपैयाँ बिगो भराई, बिगो बमोजिम १४ लाख २१ हजार ४०० रुपैयाँ जरिवाना तथा क्षतिपूर्ति बापत पीडित राहत कोषमा ६४रुपैयाँ जम्मा गराउने ठहर भएको थियो।
फरार रहेका प्रतिवादी अमृत थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा चैत २२ गते मीनभवनबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि आज (२३ गते) ललितपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।




