March 25th, 2024

माछापुच्छ्रे बैंकले मनायो ‘ग्लोबल मनि विक’

बैंकिङ खबर/ माछापुच्छ्रे बैंक लिमिटेडले वित्तीय साक्षरता जगाउने उदेश्यले ‘ग्लोबल मनि विक २०२४’ भव्य रुपमा मनाएको छ। हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनि विक बैंकले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरू मार्फत वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरी मनाएको हो।

मार्च १८ तारिख देखि २४ तारिखसम्म परेको ‘ग्लोबल मनि विक २०२४’ अन्र्तगत माछापुच्छ्रे बैंक लिमिटेडले ‘प्रोटेक्ट योर मनी सेक्युर योर फिचर’ भन्ने मूल नाराका साथ कार्यक्रम गरेको जनाएको छ। बैंकले देशका ७ वटै प्रदेशमा स्कुल, कलेज, क्लवहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरेको थियो।

सो अवधिमा बैंकले बैंकिङ्ग सम्बन्धी आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकहरुले प्रदान गरिरहेका डिजिटल सेवाहरु, डिजिटल सेवाहरुको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रुपमा गरिने हुन्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको थियो।

ग्लोबल मनी सप्ताह सन् २०१२ देखि प्रत्येक वर्षको मार्च महिनामा यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ। सोही अनुरुप युवा अवस्थादेखि पैसाको व्यवस्थापन गर्न सिक्न, भविष्यका लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पुर्याउने मद्दत गर्ने विश्वासका साथ बैंकले हरेक वर्ष ग्लोबल मनी सप्ताह मनाउदै आएको छ। माछापुच्छ्रे बैंकले आम ग्राहकलाई लक्षित गर्दे यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरू मार्फत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आईरहेको छ।