March 22nd, 2024

ग्लोबल मनि विक २०२४ : कुमारी बैंक चन्द्रौटा शाखाद्वारा वित्तीय साक्षरता सम्पन्न

बैंकिङ खबर/ कुमारी बैंक लि. चन्द्रौटा शाखाले ‘ग्लोबल मनि विक–२०२४’ को अवसर पारेर कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ५ मा रहेको आवर मोदरल्याण्ड एकेडेमीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कक्षा १०–११ र १२ पढ्ने करिब ७० भन्दा बढी विद्यार्थीहरु उपस्थित थिए । बैंकका शाखा प्रबन्धक विकाश खनाल र सम्बन्ध प्रबन्धक कृष्ण बाबु घिमिरेले कार्यक्रममा बोल्दै वित्तीय अनुशासन के हो ?, वित्तीय आचरण कस्तो हुनुपर्दछ ?, वित्तीय साक्षरताको महत्व, फाइदा त्यस्तै गरी बचत के हो ?, किन आवश्यक छ ?, भविष्यको आर्थिक भइपरीबाट बच्न के गर्नुपर्छ, फजुल खर्च के–के हुन्, कसरी नियन्त्रण गर्ने, लघु उद्यम के–के हुन् ? कसरी सुरुवात गर्ने, कर्जा कसरी लिने र कति लिने ?, वित्तीय ठगीबाट कसरी बच्ने, किन ओपिटी कसैलाई दिनु हुँदैन भन्ने बारेमा वृहत्त रुपमा भनाइ राखेका थिए ।

आजको बचतबाट नै आफ्नो सपना भोलिका दिनमा पूरा गर्न सकिने भन्दै आजैबाट बचत गर्न समेत उनले प्रेरित गरेका थिए ।

आफ्नो आम्दानीको ७०% दैनिक जीवनको खर्च गरेता पनि बाँकी ३०% मध्ये २०% अल्पकालीन बचत र १०% दीर्घकालीन बचत गर्नु पर्दछ र उक्त पैसा आफ्ना सन्ततिको लागि उपयोगी हुने भन्दै सम्पूर्णलाई बचत गर्ने बानी बसाल्न प्रेरित गरिएको थियो ।

त्यसैगरी, डिजिटल बैंकिङ के हो ?, यसको प्रयोगले मानिसको जीवनमा कसरी सहयोग पु¥याउँछ भन्ने बारे पनि प्रष्ट पारिएको थियो ।

+२ पढ्ने विद्यार्थीहरुले अनिवार्य बैंकमा खाता खोलि कारोबार तथा बचत गर्न उनले सल्लाह दिएका थिए ।
कार्यक्रम सकिए लगत्तै घिमिरेले आजको यस कार्यक्रमले तपार्इंको फजुल खर्च गर्ने बानीलाई सुधार गर्ला त भनी विद्यार्थी माझ प्रश्न गरेका थिए ।

जसमा सम्पूर्ण विद्यार्थीहरुले आजसम्म जानी नजानी अनावश्यक शिर्षकमा फजुल खर्च आफुहरुले गरेको र अब उप्रान्त खर्च गर्दा सोच विचार गरेर मात्र गर्ने भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए । त्यस्तैगरी आफुले यतिका वर्ष अध्ययन गर्दा पनि बचत गर्ने बानी नबुजेको तर आजको यस कार्यक्रमले आँखा खोली दिएको भन्दै विद्यार्थीहरुले खुसी व्यक्त गरेका थिए ।

वित्तीय साक्षरताका कार्यक्रम नियमित रुपमा हुनुपर्छ तब मात्र वित्तीय अनुशासनको विषयमा पूर्ण ज्ञान हुन्छ भन्दै सम्पूर्ण विद्यार्थीहरुले अझ यस्ता कार्यक्रमहरु गरिरहन सुझाव दिएका थिए ।
उक्त कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी बाबुराम खनालले गरेका थिए ।