March 19th, 2024

फस्र्ट माइक्रोफाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ ग्लोवल मनि सप्ताह २०२४ को सन्दर्भमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ज्ञानेश्वर, काठमाडौंले मंगलबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं डिल्लीबजार स्थित सामुदायिक विद्यालय  पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालयका १२ कक्षामा अध्ययनरत करिव १६० जना छात्रालाई बैंकिङ्ग प्रणाली, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा, डिजिटल वित्तीय सेवा, धितोपत्र, विमा, सम्पत्ती शुद्धीकरणका साथै बैंकिङ्ग कसुर सम्बन्धी विषय समेटेर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता सम्बन्धी कक्षाको सहजिकरण संस्थाका कर्मचारी देवराज नेपालले गरेका थिए । 

उक्त कार्यक्रममा उच्च मा.विका विद्याथी, शिक्षक र फस्र्ट माइक्रोफाइनान्सका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । उक्त कार्यक्रममा पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालयको शिक्षक बलराम पौडेलले फस्र्ट माइक्रोफाइनान्सको यस प्रकारको कार्यक्रमले यस विद्यालयमा अध्यनरत छात्राहरुलाई बैकिङ तथा वित्तीय योजना सम्बन्धी आधारभुत ज्ञान मिलेको धारणा राखेका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा फस्र्ट माइक्रोफाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई पढाइका साथ साथै सानै देखि पैसाको बचत तथा सदुपयोग गर्ने बानी बसाल्न, जिवन चक्र अनुसारको वित्तीय योजना, पारिवारिक बजेट निर्माण गर्ने र अवका युवा युवतीले वित्तीय रुपमा साक्षर भइ सोचमा परिवर्तन आउनुपर्ने र पैसाको पछि नदौडि पैसालाई काममा लगाउनु पर्ने विषयमा आफ्नो विचार व्यक्त गरेका थिए ।