March 19th, 2024

ग्लोबल मनी विकको सन्दर्भमा राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयद्वारा प्रभातफेरी

बैंकिङ खबर/ बालबालिका तथा युवा लक्षित वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजकत्वमा सन् २०१२ देखि हरेक वर्ष Global Money Week-GMW विश्वभर मनाउने गरिएको छ । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले बालबालिका तथा युवाहरुमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्य लिएर सन् २०२४ मार्च १८ देखि २४ (२०८० चैत ५ देखि ११) सम्म “Protect Your Money, Secure Your Future” भन्ने नाराका साथ Global Money Week-2024 १२औं श्रृङ्खला मनाउन लागेको छ ।

यस कार्यालयको संयोजकत्वमा मिति २०८० चैत ६ गते यस क्षेत्रमा रहेका क, ख, ग तथा घ वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा पत्रकार लगायतकोे करिव ८०० जनाको उपस्थितिमा प्रभातफेरी कार्यक्रम सञ्चालन सम्पन्न भएको छ ।

उक्त प्रभातफेरी कार्यक्रम कार्यालयदेखि बैंकरोड–मिलनचोक–नारायणस्थान–बुद्धचोक–बर्मेलीटोल–नयाँ सडक हुँदै पुनः कार्यालय परिसरमा आएर सम्पन्न भयो ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय परिसरमा कार्यक्रम समापन गर्ने क्रममा कार्यालयका निर्देशक सत्येन्द्र राज सुवेदीले वित्तीय चेतना अभिवृद्धि गर्ने कार्य निरन्तर प्रक्रिया भएकाे र यस्तो चेतना बालबालिकामा दिन सकेमा अझ प्रभाकारी हुने बताए ।

आजको डिजिटल युगमा वित्तीय उपकरण तथा सेवाहरुलाई पनि सहज र सुरक्षित प्रयोग गर्न सक्ने वातावरण निमार्ण गर्ने कर्तब्य पनि बैंक तथा वित्तीय संस्थाहरुको हुनुपर्ने उनले बताए । वित्तीय स्थायित्व कायम गर्न सक्षम नेतृत्वको विकाससँगै युवाहरुमा वित्तीय सचेतना बढाउनु पर्ने कुरामा उनले जोड दिए ।

यस कार्यालयले दुई वटा सामुदायिक विद्यालयहरुमा वित्तीय चेतनामूलक कार्यक्रम सञ्चालन गरिने कार्यक्रम रहेको छ ।  कार्यालयको अवलोकन तथा बैंकिङ्ग गतिविधि अवलोकनका लागि नगर क्षेत्रका दुई वटा विद्यालयका विद्यार्थीहरुलाई आमन्त्रण गरिने निर्देशक सुवेदीले बताए ।