
बैंकिङ खबर/हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नरेश अग्रवालसहित ३ जना पक्राउ परेका छन्। अग्रवाललाई काठमाडौंको क्षेत्रपाटी र अन्य दुई जनालाई न्युरोड लगायतका क्षेत्रबाट राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो।
विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार अग्रवालको समूहले हुण्डी र क्रिप्टो करेन्सीको कारोबार गर्दै आएको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
उनीहरुको साथबाट २ करोड भन्दा बढी नेपाली रूपैयाँ र तीन हजार अमेरिकी डलर बरामद भएको महानिर्देशक ढुंगानाले जानकारी दिए। नरेश अग्रवाल क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आएका थिए। उनी सुनको अवैध कारोबारमा समेत संलग्न रहेको आशंका रहेको महानिर्देशक ढुंगानाले बताएका छन्।
बिहीबार पक्राउ परेका बाँकी दुई जनाको भने परिचय खुलाएको छैन। उनीहरूको संलग्नताबारे अनुसन्धान भइरहेको महानिर्देशक ढुंगानाले जानकारी दिए।



