
बैंकिङ खबर/बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालका अध्यक्ष पवनकुमार गोल्यानले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। बुधबार बसेको सिबिफिन कार्यसमितिको १५औँ बैठकले अध्यक्ष गोल्यानको राजीनामा स्वीकृत गरेको हो।
एनएमबी बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुने घोषणा गरेका गोल्यानले संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताए।
निवर्तमान अध्यक्ष गोल्यानकै विशेष अगुवाईमा वि.सं २०७६ सालमा स्थापित सिबिफिनको उनी संस्थापक अध्यक्ष समेत हुन्। सिबिफिनको तदर्थ समितिको गठनदेखि हालसम्म उदाहरणीय नेतृत्व गर्दै आएका गोल्यानको चारवर्षे कार्यकालमा सिबिफिनले आफूलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा समेत स्थापित गर्न सफल भएको छ।
निवर्तमान अध्यक्ष गोल्यानको फराकिलो र दुरगामी सोच एवं मार्गनिर्देशनमा अगाडि बढेको सिबिफिनले आर्थिक एवं बैंकिङ क्षेत्रमा खेलेको भूमिका र योगदानका आधारमा प्रवल जनसेवाश्री जस्तो राष्ट्रिय पदकबाट समेत विभूषित भइसकेको संस्थाले जनाएको छ।
निवर्तमान अध्यक्ष गोल्यानको राजीनामासँगै रिक्त हुन आएको अध्यक्ष पदमा नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौड्याललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरिएको छ।
नवनिर्वाचित अध्यक्ष पौड्याल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन्। सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौड्यालले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका थिए।
एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात उनी नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा रहेका छन्।




