Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भारु सटहीमा गभर्नर नेपाल र भारतीय समकक्षी पटेलबीच फोनवार्ता

admin २०७३ कार्तिक २८ गते
सेयर:

governersनेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालको मोबाइलमा शुक्रबार राति ९ बजे मेसेज आयो । गभर्नर नेपालले मेसेज ओपन गरे, मेसेज रिजर्व बैंक अफ इन्डियाका गभर्नर उर्जित पटेलेको थियो । उनले तीन घण्टाअघि मात्रै भारतीय समकक्षी पटेलसँग फोनवार्ता गरेका थिए । मेसेजमा पटेलले लेखेका थिए, ‘नेपालमा भएको भारतीय रुपैयाँ ५ सय र १ हजार व्यवस्थापनका विषयमा हामी छलफलका क्रममा छौँ । केन्द्र सरकार पनि यस विषयमा गम्भीर छ, यसबारे केही कुरा आउनेवित्तिकै म तपाईलाई खबर गर्नेछु ।’ 

त्यसअघि पनि गभर्नर डा. नेपालले विहिबार पटेलसँग दुई चरण टेलिफोन वार्ता गरेका थिए । नेपालमा रहेका भारु ५ सय र १ हजारको नोट लिइदिन नेपाल राष्ट्र बैंकले पठाएको पत्रबारे उनले कुराकानी गरेका थिए । कुराकानीका क्रममा पटेलले आफूहरु नेपाल राष्ट्र बैंकले पठाएको पत्रप्रति सकारात्मक भएको र त्यसबारे छलफल गरिरहेको जानकारी गराएका थिए । गभर्नर नेपालले पनि नेपालमा धेरै भारु नभएकाले भएका नोट लिइदिन आग्रह गरेका थिए । 

कालोधन, भ्रष्टाचार र नक्कली नोटका कारण उत्पन्न समस्या हल गर्न भारत सरकारले ५ सय र १ हजारको पुरानो भारु नोटमाथि प्रतिबन्ध लगाएको थियो । खुला सिमाना भएका कारण सीमावर्ती क्षेत्रमा कैयौँ नेपालीले भारतीय नोटमै कारोबार गर्दै आएका छन् । ठूला नोटमाथि प्रतिबन्ध लगाइएसँगै सीमावर्ती क्षेत्रका नेपालीसँग भएको पुरानो नोट कागजको खोस्टासरह भएपछि चिन्ता गरिएको छ । त्यस्तो चिन्ता सम्बोधनका लागि केन्द्रीय बैंकले विहिबारै आरविआईलाई पत्र लेखेर नेपालीसँग भएका भारु व्यवस्थापनका लागि आग्रह गरेको हो । यद्यपि त्यसबारे औपचारिक प्रतिक्रिया भने आइसकेको छैन । त्यसैले पनि गभर्नर नेपालले त्यसबारे भारतीय समकक्षी पटेलसँग चरणबद्ध वार्ता गरिरहेका हुन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।