सक्षम नेपालले बाँके जिल्लाको नेपालगञ्जमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जिवी नेपालद्धारा बुधबार सो कार्यालयको उद्घाटन गरिएको हो ।
सक्षम नेपाल बेलायती सहयोग नियोगद्वारा वित्तीय पहुँच विस्तारका लागि सञ्चालित एक कार्यक्रम हो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा सक्षमले नेपाली ग्रामीण इलाकामा वित्तीय पहुँच विस्तारका लागि काम गर्दै आएको छ । बहुराष्ट्रिय कम्पनी लुइस बर्जरले नेपालमा एक वर्षअघि यो कार्यक्रमको सुरु गरेको थियो ।
कार्यालयको उद्घाटन गर्दै गभर्नर डा. नेपालले छोटो समयमा नै सक्षम नेपालले थुप्रै प्रभावकारी काम गरेको र भुकम्प प्रभावित जिल्लाहरुमा शाखारहित सेवा विस्तार गरी नेपालको वित्तीय सेवाको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको बताए ।
नेपालगञ्जमा कार्यालय खोल्न पाउँदा उत्साहित भएको सक्षमका टिम लिडर बलजित बोहराले बताए । नयाँ कार्यालयले सक्षमको कामलाई अझ प्रभावकारी बनाउने विश्वास लिएको उनलको भनाइ थियो ।
नेपालगञ्जस्थित यो कार्यालय सक्षमको दोस्रो स्याटलाइट अफिस हो । यसअघि गत वर्षको मार्च महिनामा डडेलधुरामा पहिलो स्याटलाइट अफिसको स्थापना गरिएको थियो ।




