हिन्दू नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारमा देउसी भैलो खेलेर रमाईलो गर्ने गरिन्छ । देउसी भैलोमार्फत रमाईलो गराएवापत देउसी टोलीलाई दान दक्षिणा पनि दिने चलन छ । आजभोली विभिन्न संघसंस्थाबाट ठूला–ठूला कार्यक्रम, तडकभडकका साथ देउसी खेलिन्छ र मनग्ये दक्षिणा पनि संकलन गरिन्छ । तर बालबालिकाहरुले सामान्य रुपले देउसी खेलेर पनि मनग्ये रकम जम्मा गर्ने गर्दछन् । खासगरी बालिकाहरु त्यति धैरै खर्च पनि गर्दैनन् भने अर्कोतिर टिकापछि दाजुभाईबाट पाउने दक्षिणाका कारणले पनि यो बेला उनीहरुसँग सामान्यभन्दा बढी रकम जम्मा भएको हुन्छ ।
अभिभावकका लागि भने यही बेला अझै सान्दर्भिक हुन सक्छ, आफ्ना छोराछोरीलाई बचत गर्ने बानी सिकाउने मौका । यो पैसाको बचत मात्रै नभएर आफ्ना सन्तानमा उत्तम बानीको निर्माण गर्नु पनि हो । पैसाको बचत, जतन र उपयोगीताबारे अभिभावकले बेलैमा आफ्ना सन्तानलाई सिकाउनुपर्छ र सचेत गराउनुपर्छ । किनकी पैसाको बचत, जतन र सदुपयोग गर्ने बानीले उनीहरुको भविष्य निर्माणमा ठूलो भूमिका खेल्नेछ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न उमेर समूहलाई लक्षित बचत योजना सञ्चालनमा ल्याएका छन् । ती संस्थाहरुले सञ्चालनमा ल्याएका बचत योजनाहरु बालबालिका लक्षित पनि छन् । बैंकहरुले यस्तो बचतमा ४ प्रतिशतसम्म व्याज दिइरहेका छन् । बालबालिककाको नाममा बचत गर्न धेरै पुँजी हुनुपर्छ भन्ने पनि छैन । बैंकहरुले निःशुल्कदेखि १ हजार रुपैयाँसम्म हुनु पर्ने गरि बचत खाता सञ्चालनमा ल्याएका छन् ।जसमा अभिभावकले बालबालिकालाई सहभागी गराउन सक्ने हो भने भविष्यमा निकै सहज हुने छ ।
हेरौँ कुन बैंकमा कुन प्रकारका बालबालिका लक्षित योजना छन, न्यूनतम कति रुपैयामा खाता खोल्न पाइन्छ र कति व्याजदर दिन्छन् ?
प्रभु बैंक : प्रभु बैंकले स्टुडेन्ट सेभिङ खाता संचालन गरिरहेको छ । न्यूनतम ब्यालेन्स एक सय रुपैयाँ हुनुपर्ने यो खाता प्रभुले २ प्रतिशत ब्यादर तोकेको छ ।
ग्लोबल आईएमई बैंक : ग्लोबल आइएमई बैंकले स्टुडेन्ट सेभिङ र बालबालिका बचत खाता सञ्चालन गरेको छ । स्टुडेन्ट सभिङलाई १.५ प्रतिशत व्याजदर छ तर यो शून्य मौज्दातमा खोल्न सकिन्छ भने बालबालिका बचत खाता न्यूनतम ब्यालेन्स एक हजार रुपैयाँ हुनुपर्नेछ । यसमा १.५ प्रतिशत ब्याजदरको व्यवस्था गरिएको छ ।
एनएमबी बैंक : एनएमबी बैंकले योङ सेभर्स बचत खाता सञ्चालन गरेको छ । जहाँ एक प्रतिशत ब्याजदरको व्यवस्था छ र न्यूनतम ब्यालेन्स ५ सय रुपैयाँ हुनुपर्नेछ ।
माछापूछ्रे बैंक : माछापूछ्रे बैंकले आकर्षक व्याजदरमा न्यूनतम ब्यालेन्स एक रुपैयाँमा हुने गरी बालबालिका बचत खाता संचालन गरेको छ ।
मेगा बैंक : मेगा बैंकले आकर्षक व्यादरमा मेगा योङगस्टार बचत खाता संचालन गरिरहेको छ । सो खातामा न्यूनतम ब्यालेन्स १ हजार रुपैयाँमा हुनुपर्ने छ ।
नेपाल बंगलादेश बैंक : त्यस्तै नेपाल बंगलादेश (एनबि) बैंकले पनि आकर्षक व्याजदरमा बाल बचत खाता संचालनमा ल्याएको छ र त्यसका लागि कम्तिमा १ हजार रुपैयाँले खाता खोल्न सकिने छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक : नेपाल इन्भेष्टमेन्ट बैकले ल्याएको केटाकेटी बचत खातामा ३ प्रतिशत ब्याजदर छ भने एक रुपैयाँमै खाता खोल्न सकिनेछ ।
नेपाल एसबिआई बैंक : नेपाल एसबिआई बैंकले पनि एक रुपैयाँमै खाला खोल्न मिल्ने गरी आकर्षक ब्याजदरमा एनएसबिएल बाल बचत योजना संचालन गरिरहेको छ । सो बैंकले कम्तिमा १ हजार रुपैयाँमा खाता खोल्न मिल्ने गरी आकर्षक व्याजदरमा कर्णधार बाल बचत योजना पनि संचालन गरिरहेको छ ।
जनता बैंक नेपाल : जनता बैंकले ब्राईट फयुचर सुरक्षा बचत ब्याजदर संचालन गरिरहेको छ । आकर्षक व्याजदर भएको सो योजना शून्य मौज्दातको हो ।
कुमारी बैंक : कुमारी बैंकले कम्तिमा १ हजारमा खाता खोल्न मिल्ने गरी आकर्षक ब्यजदरमा ट्वीङकल स्टार सेभिङ योजना संचालन गरिरहेको छ ।
सिद्धार्थ बैंक : त्यसैगरी सिद्धार्थ बैंकले सिद्धार्थ स्टुडेन्ट सेभिङ खाता संचालनमा ल्याएको छ जसमा ३ प्रतिशत ब्याजदर दिइन्छ भने एक हजार रुपैयाँमा खाता खोल्न सकिनेछ ।
सेञ्चुरी कमर्सियल बैंक : सेञ्चुरी बैंकले ल्याएको सेञ्चुरी बालबचत खातामा ३ प्रतिशत व्याज दिइन्छ भने न्यूनतम ब्यालेन्स १ हजार हुनुपर्नेछ ।
एनसीसी बैंक : एनसीसी बैंकले शून्य मौज्दातमा एनसीसी बाल सुरक्षा बचत खाता खोल्न मिल्ने गरी व्यवस्था मिलाएको छ । त्यसमा आकर्षक ब्याजदर दिइने बैंकले जनाएको छ ।
सनराइज बैंक : सनराइज बैंकले सनराईज बैंक सनराईज बाल बचत कोष भन्ने खाता संचालन गरिरहेको छ । जुन खाता एक सय रुपैयाँमै खोल्न सकिन्छ भने २ प्रतिशत व्यादरको व्यवस्था छ ।
सिभिल बैंक : सिभिल बैंकले सिभिल बैंक किशोर बचत खाता संचालन गरिरहेको छ । कम्तिमा १ सय रुपैयाँमा खाता खोल्न सकिने छ भने ३.५ प्रतिशत ब्यादरको व्यवस्था गरिएको छ ।
नबिल बैंक : त्यस्तै नबिल बैंकले बाल बचत खाता संचालन गरिरहेको छ । त्यसमा आकर्षक व्यवस्था छ भने खाता निःशुल्क खोल्न सकिनेछ ।
प्राइम कमर्सियल बैंक : यसैगरी प्राइम कमर्सियल बैंकले ४ प्रतिशत व्याजदरमा प्राइम स्टुडेन्ट सेभिङ खाता संचालन गरिरहेको छ । यो खाता पनि निःशुल्क खोल्न सकिने छ ।


