Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कमर्सियल बैंकलाई चुनौती दिँदै डेभलपमेन्ट बैंकहरु 

admin २०७३ कार्तिक १४ गते
सेयर:

banking-pokharaपोखरामा रहेका बैैंक तथा वित्तीय संस्थामा एक वर्षको अवधिमा अघिल्लो आर्थिक वर्षको भन्दा १५ अर्बभन्दा बढी निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ को अन्त्यसम्ममा पोखराका बैंक तथा वित्तीय संस्थाहरुले ९८ अर्ब ३२ करोड निक्षेप संकलन गरेका छन् । अघिल्लो आव अर्थात् २०७१/७२ जम्मा ८३ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन भएको थियो । 

कुल कर्जा र निक्षेपमा वाणिज्य बैंक समूह र विकास बैंक समूह हाराहारीमा रहेको पाइएको छ । गत आर्थिक वर्षमा पोखराका बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक चिरञ्जीवी चापागाईंले बताए । उनका अनुसार अघिल्लो आवमा पोखराका बैंक तथा वित्तीय संस्थाहरुले ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । बैंक तथा वित्तीय संस्थाले कारोबारको दायरा बढाएसँगै निक्षेप संकलन र कर्जा प्रवाह उल्लेख्य रुपमा बढेको हो ।

अन्य क्षेत्रमा हेर्दा वाणिज्य बैंक समूहको अवस्था सबल देखिए पनि पोखराको हकमा विकास बैंकहरु पनि निक्षेप संकलन र कर्जा प्रवाहमा सबल देखिएका छन् । राष्ट्र बैंक निर्देशक चापागाईंले भने, ‘कास्कीमा कमर्सियल बैंककै हाराहारीमा विकास बैंकहरु छन्, यसले यहाँका विकास अन्तभन्दा बढी सक्रिय छन् भन्ने प्रस्ट्याउँछ ।’ यहाँका विकास बैंक सबल हुनुमा के छ त कारण ? निर्देशक चापागार्इं भन्छन्, ‘यहाँका धेरै विकास बैंकका प्रोमोटर, सिईओ र कर्मचारी स्थानीय छन्, त्यसैले पनि निक्षेप संकलन र कर्जा प्रवाहको लागि सजिलो भएको हो ।’ 

ओम डेभलपमेन्ट बैंकका डेपुटी सिइओ बुद्धि मल्ल चापागाईंको विचारसँग सहमत छन् । प्रोमोटर, व्यवस्थापन र अन्य तहका कर्मचारी स्थानीय हुँदा चिनजानका आधारमा पनि कारोबार हुन्छ । उनले भने, ‘निक्षेपमा कमर्सियल बैंकको भन्दा बढी ब्याजदर, कर्जा प्रवाह प्रक्रिया सजिलो भएकाले पनि विकास बैंकतिर ग्राहकको आकर्षण बढेको पाइन्छ ।’ पोखरामा ठूलो औद्योगिक घराना कम भएकाले पनि वाणिज्य बैंकहरुको लगानी भएको उनको तर्क छ । ठूला उद्योग र व्यापारिक घराना भएको ठाउँमा सोही अनुसारको ठूलो लगानी गर्नु परे विकास बैंकको ठाउँमा कमर्सियलले नै अवसर पाउने उनले बताए । 

कास्कीका बैंक तथा वित्तीय संस्थाहरुले कृषि, खानी, उत्पादन, निर्माण, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक, यातायात उपकरण उत्पादन, यातायात सञ्चार तथा जनउपयोगी सेवा, थोक तथा खुद्रा बिक्रेतामा लगानी गरेका छन् । यसका साथै बित्त, बीमा तथा अचल सम्पत्ति, पर्यटन लगायत सेवा उद्योग, उपभोग्य कर्जा र स्थानीय सरकारमा पनि यहाँका बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्दै आएका छन् । 

राष्ट्र बैंकका अनुसार गत आवसम्ममा थोक तथा खुद्रा बिक्रेतामा पोखराका बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी लगानी गरेका छन् । औद्योगिक क्षेत्रमा पनि बिस्तारै लगानी बढ्न थालेको छ । २ वर्षअघि १ अर्ब ७६ करोड लगानी भएकोमा गत वर्ष २ अर्ब ३४ करोड लगानी भएको चापागाईंले बताए । खानी, उत्पादन, निर्माण, विद्युत, ग्यास तथा पानी, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रिक र पर्यटन उद्योगमा लगानी बढ्दै गएको छ । पछिल्लो समयमा उत्पादनशील क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी बढाउन थालेका छन् । तर यो नै पर्याप्त नभएको सरोकारवालाहरु बताउँछन् । अझै पनि उपभोग्य कर्जामा बैंकहरुको कर्जाको मात्रा धेरै भएकाले यसलाई घटाउनका लागि अर्थविदहरु सुझाव दिन्छन् । 

५ वर्षअघिसम्म पोखरामा ४ वटा फाइनान्स र १२ वटा विकास बैंकका मुख्य कार्यालय थिए । अहिले मर्जरमा गएपछि फाइनान्स कम्पनी एउटा मात्र बाँकी छ । मुक्तिनाथ, फेवा, ओम, गण्डकी विकास बैंकका मुख्य कार्यालय कार्यालय पोखरामा छन् । मुक्तिनाथ विकास बैंकले राजधानीमै मुख्य कार्यालय सार्ने तयारी गरेको छ भने गरिमा विकास बैंकले केही समय अघि मुख्य कार्यालय सारेको छ । 


आव                निक्षेप                कर्जा
२०७०/७१    ७१ अर्ब ८३ करोड    ५६ अर्ब ९७ करोड
२०७१/७२    ८३ अर्ब १० करोड    ७१ अर्ब
२०७२/७३    ९८ अर्ब ३२ करोड    ८५ अर्ब २४ करोड

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।