October 30th, 2016

लाखौँ खर्च गरेर लक्ष्मीको पुजा गरिँदै, पैसा कमाउन यस्ता छन् ‘धनीका टिप्स’हरु

paisako-pujaआइतबार (आज) यमपञ्चकको तेश्रो दिन अर्थात लक्ष्मी पुजा । लक्ष्मी अर्थात पैसाको पुजा गरी मनाईदैछ । लक्ष्मीलाई धनकी देवी मानिन्छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने धार्मिक मान्यता अनुसार आज घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गर्ने गरिन्छ । 

विभिन्न बैंक तथा वित्तीय संस्थासहित, गृहनागृह तथा विभिन्न कार्यालयले लाखौँ खर्च गरेर आज रंगिचंगी फुल र बत्तिले झकिझकाउ पार्ने गर्छन् । साँझ घरको मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने प्रचलन चलि आएको छ । 

गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्ने गर्दछन् । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने विश्वास समेत रहेको छ । यसरी भैलो माग्दै हिंड्ने समूहलाई धान, चामल, पैसा र नैवेद्य दिने चलन छ । 
नेपाली समाजमा पैसाको पूजा पनि यसै दिन गरिन्छ । नयाँ नोटलाई लक्ष्मीको फोटो वा मुर्ति अघि राखेर पुजा गर्दा लक्ष्मी खुशी हुने र पैसा आर्जन भईरहने आम विश्वास रहिआएको छ । 
यतिबेला विश्व नै लक्ष्मी अर्थात पैसाको.पछि दौडिरहेको छ । पैसा कमाउनु नै हरेक मान्छेको अन्तिम उद्देश्यजस्तै भएको छ । हुन पनि पैसा मान्छेको जीवनदेखि मृत्यसम्म जोडिएको हुन्छ । त्यसैले पनि यसले यति धेरै स्थान पाएको छ । यद्यपी पैसा त्यति सजिलै कमाउन मुश्किल छ । यसको लागि कडा मिहेनत, लगनशीलता र निरन्तरता चाहिन्छ । यद्यपी मान्छेले चाहेजति पैसा कमाउन सकिरहेको हुँदैन ।
 
पैसा कमाउन मान्छेले वर्षभरि नै हर तबरको दुख र चुनौति झेलिरहेको हुन्छ । तर लक्ष्मी पुजाको अवसरमा एक दिन पैसाको पूजा गरेर पैसा आर्जन हुन्छ भन्नु मुर्खताजस्तै हो । धार्मिक मान्यताअनुसार त्यसलाई निरन्तरता दिनु आवश्यक भएपनि पैसा कमाउनका लागि अठोट, सदमार्ग र निरन्तरको प्रयास आवश्यक रहेको धनाढ्यहरु बताउँछन् । 

लक्ष्मीको देखावटी पुजा गरेर मात्र हुँदैन । कर्तव्य कत्तिको पालना गरिएको छ भन्ने कुराले पनि भूमिका खेल्छ । व्यवसाय गर्नेले इमान्दारी पूर्वक व्यवसाय गर्नुपर्छ । व्यवसायमा एउटा सिद्धान्त हुन्छ, ‘रिजोनेवल प्रोफिट’ । ठिक्क नाफा लिएर समान बिक्री वितरण गर्न सकेमा एक पटक आएको ग्राहक सधैभरी आइरहन्छ । ठिक्क मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराएर ग्राहकलाई खुसी पार्न सक्ने हो भने टाढाको ग्राहक पनि पेट्रोल खर्च गरेर आउँछन् । मानिसमा इमान्दारीता, लगनशिलता र मेहनत र शिक्षा भने अवश्य हुनुपर्छ । यस्तो भएमा जुन क्षेत्रमा लागेपनि लक्ष्मी अर्थात धन कमाउन सकिन्छ । 

बिल गेट्सले शून्यबाट शुरु गरेर पनि आज संसारको सबैभन्दा धनी व्यक्ति बन्नुको कारण उनको लगनशिलता मेहेनत, इमान्दारीता नै हो । मेहनतका साथ इमान्दारीपूर्वक काम गर्न सकेमा जिरोबाट शुरु गरेपनि अर्बपती बन्न सकिने धनाढ्यहरु बताउँछन् । त्यसका लागि क्षेत्रगत ज्ञान अतिआवश्यक हुन्छ । आफुलाई ज्ञान नभएको क्षेत्रमा लगानी गरेर पैसा कमाउन सकिदैन् । पैसाको दुरुपयोग गर्न हुँदैन । भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङ जिरो लेभलबाटै अर्बपति भएका हुन् । नेपालका सबैभन्दा ठूला उद्योगपति विनोद चौधरीको पारिवार पनि जिरो लेभलबाटै संघर्ष गरी अरबपति भएको हो । यहाँ पैसा कमाउनेहरु कसैले पनि पैसा लिएर जन्मिएका थिएनन् । धनाढ्हरु भन्छन् – अथक मिहेनत, सही ठाउँमा लगानी, निरन्तरता र लगनशीलता भयो भने एकदिन अवश्य धनि भइन्छ ।