यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ । गत मङ्सिरदेखि परीक्षणका रूपमा बागमती अञ्चलमा मात्र सुरु भएको सो प्रणाली एक वर्षभित्र बाँकी १३ वटै अञ्चलमा विस्तार गर्ने गरी गृहकार्य थालिएको विभागले जनाएको छ ।
एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा उक्त प्रणाली सुरु गरिएको हो । एडिबीले सवारीचालक अनुमति पत्रलाई व्यवस्थित बनाउन उक्त प्रणाली प्रयोग गर्नका लागि करिब २३ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
अहिलेसम्म करिब एकलाख सेवाग्राहीले बागमती अञ्चल कार्यालयबाट चारपाङ्ग्रे, दुईपाङ्ग्रेलगायत सवारी साधन चालक अनुमतिपत्र स्मार्ट कार्ड प्रणालीमार्फत वितरण गरिएको विभागले जनाएको छ ।
