अरुण काबेली पावर लिमिटेडको साधारण सेयर (आईपीओ) आगामी शुक्रबारदेखि निष्काशन हुने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरका ३० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयरमध्ये, पाँच प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरिसकिएको छ भने तीन प्रतिशत अर्थात ९० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी सेयरका लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले सिद्धार्थ क्यापिटलको कार्यालय, काबेली पावर लिमिटेड र सिद्धार्थ बैंकका उपत्यकाभित्रका १५ शाखा तथा उपत्यकाबाहिरका ४८ शाखा गरी कुल ६५ स्थानबाट आवेदन दिन पाउनेछन् । यसबाहेक, निष्काशन तथा बिक्री प्रबन्धकद्धारा अन्य माध्यम मार्फत् सूचित गरिने संकलन केन्द्रको रुपमा कार्य गर्ने गरी नियुक्त धितोपत्र व्यवसायी तथा बैंक वित्तीय संस्थाहरुमा आवेदन फारम तथा विवरणपत्र वितरण र आवेदन फारम साथ आवेदन रकम जम्मा गर्ने व्यवस्था समेत गरिने बताइएको छ । सेयर निष्काशन छिटोमा कात्तिक १२ गते र ढिलोमा २३ गते बन्द हुने बताइएको छ ।
कम्पनीले गत असोज १६ गते आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डको स्वीकृती पाएको थियो । कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड ४+ रेटिङ प्रदान गरेको छ ।
कम्पनीमा हाल १९१३ जना संस्थापक शेयरधनी तथा उद्योग प्रभावित क्षेत्र (आयोजना प्रभावित क्षेत्र) का १४,६७३ जना शेयरधनी रहेका छन् । कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार जारी पूँजिको ७० प्रतिशत संस्थापक शेयर विभिन्न संस्था तथा व्यक्तिहरुको स्वामित्व रहेको छ । १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई बाँडफाँड गरिसकिएको भने २० प्रतिशत सर्वसाधारणमा निष्काशन गर्ने प्रकृयामा रहेको छ ।



