नेपाल सरकारले अन्तर्राष्ट्रिय कम्पनीहरुसँगको साझोदारीमा अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्नका प्रकृया सुरु गरेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले स्याटलाइट राख्न विश्वव्यापी आशयपत्र माग गरेको छ । प्राधिकरणले ४५ दिने सूचना प्रकाशित गर्दै स्याटलाइटसम्बन्धी काम गर्ने अन्तरराष्ट्रिय संस्थाहरूसँग प्रस्ताव मागेको हो ।
अन्तरराष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले अन्तरिक्षमा नेपालका लागि सन् १९८४ मा ५० डिग्री पूर्वी र १२३.३ डिग्री पूर्वी अर्बिटल स्लट छुट्याएको थियो । प्राधिकरणले अन्तरराष्ट्रिय फर्महरूलाई यो क्षेत्र ‘लन्च’ गर्नका लागि बोलपत्र पेश गर्न आह्वान गरेको छ । स्याटलाइटका लागि सूचना तथा सञ्चार मन्त्रालयले एक विज्ञ टोली गठन गरेर ड्राफ्ट तयार गरेको थियो । सोही ड्राफ्टबमोजिम प्राधिकरणले बोलपत्र मागेको हो ।
प्राधिकरणले स्याटलाइट स्थापना र सञ्चालन गर्ने मोडालिटी, खर्च र कानुनी तथा व्यावहारिक पक्षको सुझावसमेत प्रस्तावमा समेट्न भनेको छ । अहिले नेपालले स्याटेलाइट ब्यान्डविथ प्रयोग गरेबापत वार्षिक करिब ४ अर्ब रुपैयाँ खर्च गर्दै आएको तथ्यांक छ ।



