‘आवास अनुदान पाइन्छ भनेर चौतारा आएको तीन दिन भयो’ भूकम्पपीडितलाई सरकारले उपलब्ध गराउने भनेको आवास अनुदान लिन चौतारा पुगेका सिन्धुपाल्चोक खाँडीचौरका भूपेन्द्र दोङले भने, ‘तर तीन दिन भईसक्दा पनि बैंकबाट अनुदान रकम पाएको छैन ।’
दोङजस्तै खाँडीचौरस्थित सिन्धु विकास बैंकमा प्राधिकरणले दिएको सबै कागजपत्र बोकेर गए पनि फुल्पिङ डाँडाका विनोद नेपालले अनुदान रकम पाउन सकेका छैनन् । कारण सोही बैंकमा भएको खातामा पैसा राख्ने भए मात्रै रकम पाउने बैंकका कर्मचारीले बताएपछि उनी रकम नलिई फर्कन बाध्य भए । एक त थोरै बैंक त्यसमाथि पनि बैंकका कर्मचारीहरूले पीडितहरूलाई गर्ने व्यवहारले गर्दा पीडितहरू समस्यामा छन् ।
सरकारले भूकम्पपीडितका लागि थप राहत घोषणा गरेको छ । तर वास्तविकतामा भूकम्पपीडितले पहिले घोषणा भएका राहत समेत पाउन विघ्न सास्ती झेल्नु परेको छ । पुनर्निर्माणका लागि सरकारी अनुदानको पहिलो किस्ता लिन जलवीरेस्थित देव विकास बैंकले लालपुर्जा मागेपछि जलवीरे भेगका भूकम्पपीडित स्थानीयले ठूलै सास्ती बेहोर्नुप¥यो । गोल्चे, गुम्बा, पाङताङलगायतका दुर्गम गाविसबाट बास बस्दै बैंकसम्म आए पनि बैंकको सास्तीले उनीहरू फर्कन बाध्य भए । जलवीरेमा रहेको बैंकसम्म आउन गोल्चेलगायत चार गाविसका स्थानीयलाई हिँडेर आउन दुई दिन लाग्छ, तर दुई दिन हिँडेर आए पनि बैंकले समयमा नै पैसा भुक्तानी नगर्दा पाँच दिनसम्म बस्न बाध्य भएको गोल्चेका कामी शेर्पाले जानकारी दिए ।
घन्टौंको बाटो पैदल हिँडेर अनुदानको पहिलो किस्ता लिन आएका गुम्बा गाउँ विकास समितिका भूकम्पपीडितहरू बैंकले लालपुर्जाविनै पैसा दिन नमानेपछि तीन दिनसम्म जलवीरे बजारमै बास बस्नुपरेको थियो । बैंकले पैसा दिन आनाकानी गरेपछि जलवीरे भेगका गाउँ विकास समितिका सचिवहरूले स्थानीय विकास अधिकारीसामु गुनासो गरेपछि लालपुर्जा नल्याउनेहरूलाई पनि सहजै पैसा वितरण गर्न स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले निर्देशन दिएका थिए ।
खाँडीचौरस्थित सिन्धु विकास बैंकमा पनि भूकम्पपीडितहरूले अनुदान रकम सहजै लिन सकेनन् । शुक्रबार पैसा लिन सिन्धु विकास बैंकमा पुगेका भूकम्पपीडितलाई सोही बैंकमा खाता खोलेर राख्ने भए मात्र पैसा पाइन्छ नत्र पाइँदैन भनी कर्मचारीहरूले फर्काएका थिए । ‘बैंकमा खाता खोलेर राख्ने भए छ नत्र पैसा छैन भनेर फर्काए,’ फुल्पिङडाँडाका एक भूकम्पपीडितले भने ।
कृषि विकास बैंक चौतारामा अनुदानको ५० हजार लिन आएका बतासे–१ का कुमार थापाले पैसा पाउन सकेनन् । नागरिकता र अनुदान सम्झौताको पत्र लिएर बैंकमा पैसा लिन आएका उनी रित्तो हात फर्कनुप¥यो । बैंकले राहत कार्ड खोज्यो, राहत कार्ड साथमा नभएपछि अनुदान सम्झौता भएर पनि उनले ५० हजार पाएनन् । ‘सम्झौतापत्र र नागरिकता लिएर आए, राहत कार्ड नभई दिन मिल्दैन भने,’ उनी भन्दै थिए ।
यी त प्रतिनिधि पात्रमात्रै हुन् । धेरै भूकम्पपीडितले प्रक्रियागत झमेलाका कारण अत्यन्तै सास्ती झेल्नुपरेको छ । एक त, ढिला गरी अनुदान वितरण भईरहेको त्यसमाथी बैंकको प्रक्रियाका कारण भूकम्पपीडित निराश भएका छन् । भूकम्पको डेढ वर्षपछि बल्ल सरकारले पुनर्निर्माणका लागि भूकम्पपीडितका नाममा पहिलो किस्ताको ५० हजार निकासा ग¥यो तर पीडितले सहजै पाउन सकिरहेका छैनन् । बैंकर्सहरू भने आफूूहरूले प्राधिकरणको नीतिनियमभित्रै रहेर पीडितहरूलाई रकम दिएको दाबी गरिरहेका छन् ।