२०७३ आश्विन ५ गते

आरएसडीसी लघुवित्तले मानेन राष्ट्र बैंकको निर्देशन

rsdcनेपाल राष्ट्र बैंकले भदौ अन्तिमसम्ममा थोक कर्जा प्रवाह गर्ने सबै लघुवित्त बैंकहरुलाई पुँजी वृद्धि योजना पेश गर्न निर्देशन दिएकोमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाले हालसम्म पुँजीवृद्धिको योजना बुझाएको छैन । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत थोक कर्जाको कारोबार गर्ने लघुवित्तको चुक्ता पुँजी ६० करोड पुर्याउने घोषणा गरेको थियो । घोषणाअनुसार थोक कर्जाको कारोबार गर्ने लघुवित्तले २०७५ साल असारसम्ममा तोकिएको पुँजी पुर्याउनुपर्ने व्यवस्था गर्दै यसमा लागि योजना पेस गर्न गत भदौसम्मको समयसीमा दिएको थियो । 

हाल रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडीसी), साना किसान लघुवित्त विकास बैंक, फस्ट माइक्रो फाइनान्स र आरएसडीसीले थोक कर्जाको कारोबार गर्दै आएका छन् । यसमध्ये आरएमडीसीको तोकिको चुक्ता पुँजी पुगीसकेको छ । हाल आरएमडीसीको चुक्ता पुँजी ६२ करोड ९२ लाख रुपैयाँ छ ।
बाँकी तीन लघुवित्त कम्पनीले पुँजी बढाउनुपर्नेछ । यीमध्ये, साना किसान विकास बैंक र फस्र्ट माइक्रोफाइनान्सले पुँजीवृद्धिको योजना राष्ट्र बैंकलाई बुझाईसकेका छन् ।  

साना किसान विकास बैंकले राष्ट्र बैंकमा बुझाएको पूँजी वृद्धि योजना अनुसार गत आर्थिक बर्षको मुनाफाबाट २५ प्रतिशत बोनश बाँड्ने र चालु आर्थिक बर्षको नाफाबाट आगामी आर्थिक बर्षमा पनि २५ प्रतिशत नै बोनश बाड्ने छ । अहिले बैंकको ४० करोड २४ लाख रुपैयाँ रहेको छ । गतबर्षको मुनाफाबाट १० करोड रुपैयाँ बराबरको बोनश बाड्दा बैंकको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्ने र त्यसपछि अर्को बर्ष २५ प्रतिशत बोनस वितरण  गरेपछि बैंकको पूँजी ६३ करोड रुपैयाँ पुग्नेछ । 

त्यस्तै, फस्र्ट माइक्रो फाइनान्सले बुझाएको पुँजी वृद्धि योजनामा आव ०७४/७५ सम्ममा ६८ करोड ४३ लाख पुँजी पुर्याउने उल्लेख छ । जसमा २ आर्थिक वर्षमा १५÷१५ प्रतिशतका दरले बोनस सेयर दिने र २ पटक २ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने उल्लेख गरिएको छ । हाल कम्पपनीको चुक्तापुँजी ३० करोड रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत वोनस सेयर दिँदा कम्पनीको पुँजी ३४ करोड ५० लाख रुपैयाँ पुग्नेछ । उक्त पुँजीबाट ५० प्रतिशत हकप्रद दिँदा चालू आर्थिक वर्षमा नै कम्पनीको पुँजी ५० करोड नाघ्नेछ । आगामी आर्थिक वर्षमा पनि हकप्रद र वोनस सेयर दिएर कम्पनीले ६० अर्बभन्दा बढी पुँजी पुर्याउनेछ । 

आरएसडीसी लघुवित्तले भने राष्ट्र बैंकले तोकेको समय नाघिसक्दा पनि पुँजीवृद्धिको योजना पेश गरेको छैन । कम्पनीले हालै ४ करोड बराबरको साधारण सेयर जारी गरेर चुक्तापुँजी १० करोड रुपैयाँ पुर्याएको छ । जसअनुसार, कम्पनीले अबको दुई वर्षमा ५० करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकको निर्देशनमा तोकिएको समयमा चुक्ता पुँजी नपुर्याउने कम्पनीलाई नगद लाभांश वा बोनस सेयर घोषणा तथा वितरण, थप वित्तीय स्रोत संकलन, कर्जा प्रवाह तथा शाखा विस्तारमा रोक लगाउने व्यवस्था छ ।

हाल राष्ट्रियस्तरका लघुवित्त विकास बैंकको १० करोड, क्षेत्रीय स्तरको ६ करोड, ४–१० जिल्ला कार्यक्षेत्र भएकाको २ करोड र १–३ जिल्ला कार्यक्षेत्र भएकाको १ करोड पुँजी रहेको छ ।