बैंकिङ खबर/ मुलुकको कुल विदेशी मुद्रा (सञ्चिति) मा रेमिट्यान्सको योगदान करिब साढे ५६ प्रतिशत देखिएको छ । विदेशी मुद्राको स्रोत सम्बन्धमा पछिल्लो पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा उक्त अवधिमा रेमिट्यान्यको योगदान औसत ५६.४ प्रतिशत देखिन्छ । यसले नेपालको विदेशी मुद्रा सञ्चिति रेमिट्यान्समा धेरै आश्रित रहेको पुष्टि हुन्छ । विदेशी मुद्राका अन्य स्रोत निर्यात, पर्यटन (सेवा), विदेशी ऋण तथा अनुदानलगायत क्षेत्र अपेक्षित रूपमा सुधार हुन नसक्दा रेमिट्यान्समा बढी आश्रित हुनुपर्ने बाध्यता रहेको अर्थविद्हरू बताउँछन् ।
तथ्यांकअनुसार पछिल्लो पाँच वर्षको विदेशी मुद्राको स्रोतमा रेमिट्यान्सपछि विदेशी ऋण र अनुदानले औसत ११, पर्यटनलगायत सेवा क्षेत्रले १०.२ र वस्तु निर्यातले औसत ७.१ प्रतिशत योगदान पुर्याउँदै आएका छन् । जबकि विदेशी मुद्राको उपयोग हेर्दा आयातमा करिब ८३, पर्यटनमा ९ र अन्य प्रयोजनका लागि बाँकी ८ प्रतिशत हिस्सा छ ।
अन्य राष्ट्रको तुलनामा नेपालको कुल विदेशी मुद्रामा रेमिट्यान्सको योगदान धेरै रहेको अर्थशास्त्री विश्वास गौचनको भनाइ छ । ‘दीर्घकालका लागि रेमिट्यान्समा बढी निर्भरता राम्रो होइन,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चितिमा रेमिट्यान्सको योगदान कम गर्न निर्यात बढाउनुपर्छ । निर्यातमा अपेक्षित सुधार आउन नसक्दा विदेशी मुद्राका लागि रेमिट्यान्समै धेरै आश्रित हुनुपरेको छ ।’ पछिल्ला वर्षहरूमा रेमिट्यान्सको वृद्धिदरभन्दा व्यापार घाटाको वृद्धिदर धेरै बढी रहेको र यो अन्तर निरन्तर बढ्दै गएकाले विदेशी मुद्रा सञ्चितिमा रेमिट्यान्समाथिको परनिर्भरता छिट्टै कम हुने सम्भावना रहेको उनले बताए ।
पछिल्लो पाँच वर्षमा रेमिट्यान्सको वृद्धिदर औसत ७.८ र व्यापार घाटाको औसत १८ प्रतिशत छ,’ गौचनले भने, ‘पाँच वर्षको अवधिमा आयात २ सय १३ र रेमिट्यान्स १ सय १५ प्रतिशत बढेको छ ।’ कोभिडका बेला रेमिट्यान्समा हालसम्मकै सबैभन्दा राम्रो वृद्धि देखिएकामा त्यसपछिका १४ महिनामा उच्चदरले घट्दा मुलुकको बाह्य क्षेत्र दबाबमा परेको गौचनको भनाइ छ । सोयाबिन तेल र पाम आयललाई गणना नगर्दा मुलुकको निर्यात अवस्था निकै दयनीय र जोखिमपूर्ण रहेको गौचनले जनाए ।
चालु आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्समार्फत ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स १.७ प्रतिशत घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ८.७ प्रतिशतले बढेर ६ खर्ब ४२ अर्ब रुपैयाँ मुलुक भित्रिएको थियो । ‘गत फागुनसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । गत वर्षको फागुनमा यस्तो आप्रवाह ५ प्रतिशतले बढेको थियो,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा रेमिट्यान्स लगातार घटिरहेको छ, जसअनुसार गत साउनमा १८.१, भदौमा ६.३, असोजमा ७.६, कात्तिकमा ७.५, मंसिरमा ६.८, पुसमा ५.५ र माघमा ४.९ प्रतिशतले घटेको थियो । अनौपचारिक माध्यमको चहलपहल बढेकाले वित्तीय प्रणालीबाट आउने रेमिट्यान्स घटेको जानकारहरू बताउँछन् । आयात बढेकाले कर छल्न न्यून बीजकीकरणमार्फत ल्याइएका सामानको भुक्तानी हुन पनि हुन्डीलगायत गतिविधि बढेकाले रेमिट्यान्स बढ्न नसकेको उनीहरूको भनाइ छ ।
चालु आर्थिक वर्षका ८ महिनासम्म कुल विदेशी मुद्रा सञ्चिति ९.५८ अर्ब डलर छ । यो सञ्चिति जुलाई २०२० मा ११.६५ अर्ब र फेब्रुअरी २०२१ मा १२.५७ अर्ब डलर थियो । त्यसपछि यो बिस्तारै घट्न थालेको हो । यो सञ्चिति कोभिड सुरु हुनुअघि (फेब्रुअरी २०१९) को सञ्चितिसँग लगभग बराबर हो । अब अर्थतन्त्र कसरी अघि बढ्छ, त्यसले अर्थतन्त्रको आगामी दिशा निर्धारण गर्ने जानकारहरूले बताउने गरेका छन् । विदेशी मुद्राको सञ्चिति बढेको राम्रो तर अहिले घटेको सञ्चितिले देश बर्बाद नै भयो भनिहाल्ने अवस्था पनि नरहेको उनीहरूको भनाइ छ ।
कान्तिपुर दैनिकबाट