March 26th, 2022

सुबिसुद्वारा नेपालकै सबैभन्दा ठूलो ‘मोडुलर डेटा सेन्टर’ सञ्चालन

बैंकिङ खबर/ सुबिसुले नेपालमा हालसम्मकै सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । कोरोना महामारीकाबीच कम्पनीले करिब दुई वर्ष लगाएर बालुवाटरमा तयार पारेको डेटा सेन्टर औपचारिक रुपमा प्रयोगमा आएको हो ।

डेटा सेन्टरका लागि आवश्यक र्याक, स्वीच लगायतका सबै सामग्री भर्टिभबाट ल्याइएको कम्पनीका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) रामकृष्ण परियारको भनाइ छ । करिब अढाई वर्षअघि आगलागी भएको सुबिसुको कार्यालय नजिकै नयाँ डेटा सेन्टर तयार पारिएको छ । आधिकारिक रुपमा डेटा सेन्टरको स्तर मापन नगरिएको भए पनि टियर २.५ रहेको परियारको भनाइ छ ।

डेटा सेन्टरमा वैकल्पिक पावर सप्लाइको व्यवस्था समेत गरिएको छ । समान आठ–आठ र्याक रहेका दुई लाइनमा क्रमशः पहिलोमा ४० किलो वाट र दोस्रो लाइनमा ७० किलो वाट क्षमताको दोहोरो पावर सिस्टमको व्यवस्था मिलाइएको छ । हाल डेटा सेन्टरमा १६ टेराबाइट प्रति सेकेन्ड डाउनलोड तथा अपलोड क्षमता भएको सर्भर राखिएको कम्पनीले जनाएको छ । जसमा ‘वान प्लस वान’ प्रोटेक्सन राखिएको छ ।

तत्कालका लागि सुबिसुकै सेवा स्तरीय बनाउन सञ्चालनमा ल्याइएको यो डेटा सेन्टर भविष्यमा मागअनुसार अन्य कम्पनी तथा संस्थालाई समेत प्रयोग गर्न दिने योजना रहेको कम्पनीले जनाएको छ ।

डेटा सेन्टरका लागि छुट्टै नयाँ बिल्डिङ तयार पारिएको छ । जसले आठ रेक्टर स्केलसम्मको भूकम्प प्रतिरोध गर्नसक्ने बताइएको छ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा आधारित यो डेटा सेन्टरमा ‘रिमोट एक्सेस’ बाट सञ्चालन गर्न सकिने सुविधा समेत रहेको छ । भर्टिभका लागि नेपालको आधिकारिक साझेदार समेत रहेको सुबिसुले अन्य कम्पनी तथा संघसंस्थाका लागि समेत मोडुलर डेटा सेन्टर निर्माणको काम गर्दै आएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]