नेपालीहरुको महान् चाड दशैँ आउन केही साता मात्रै बाँकी छ । दशैँमा नयाँ नोटहरु प्रयोग गर्ने प्रचलन छ । त्यसैले, सबै सर्वसाधारणले यो समयमा आफूसँग भएको पूरानो नोट साटेर नयाँ लिने गर्दछन् । यसका लागि नेपाल राष्ट्र बैंकअन्तर्गत मुद्रा व्यवस्थापन विभागले वर्षेनि नोट सटही गर्न पाउने बैंक तथा वित्तीय संस्था तोकिदिएको हुन्छ । यसपालीको दशैँका लागि सर्वसाधारणले असोज १६ गतेदेखि नोट साट्न पाउने जानकारी राष्ट्र बैंकले गराइसकेको छ । साथै, हरेक वर्षजस्तै, बैंक तथा वित्तीय संस्थाहरु, सर्वसाधारण नागरिक, नेपाली सेना, नेपाल प्रहरी र निजामति सेवा लगायतका निकायहरुलाई नयाँ तथा सुकिलो नोट सटही सुविधाका लागि राष्ट्र बैंकले छुट्टाछुट्टै व्यवस्था गरेको छ ।
नोट वितरणलाई प्रक्रियालाई व्यवस्थित बनाउन राष्ट्र बैंकले ९ काउन्टरको व्यवस्था गरेको छ । ती सबै काउन्टरहरू थापाथलीस्थित राष्ट्र बैंकको कार्यालय परिसरमा रहने छन् । ती काउन्टरहरूमा महिला, वृद्ध, सेना, प्रहरी, सरकारी कर्मचारी, सर्वसाधारणलगायत विभिन्न समूहमा विभाजन गरिएको राष्ट्र बैंकले बताएको छ ।
कहाँबाट कसरी साट्ने नोट ?
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको थापाथली परिसरबाट असोज ९ गतेदेखि १४ गतेसम्म सटही सुविधा प्रदान गरिनेछ । असोज १६ गतेदेखि भने सम्पूर्ण बैंक तथा फाइनान्स कम्पनीहरुबाट सर्वसाधारण नेपाली नागरिकले नोट सटही सुविधा पाउनेछन् ।
सिधै नेपाल राष्ट्र बैंकबाट पनि नोट सटही सुविधा पाउन सकिनेछ । सर्वसाधारण नेपाली नागरिकहरुका लागि असोज १६ गतेदेखि बैंकिङ कारोबार समय (साँझ ५ बजे) भित्र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका सटही काउण्टरहरुबाट सटही सुविधान पैदान गरिने बताइएको छ ।
त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल सरकार, निजामती सेवाका कार्यालयहरुलाई समेत सम्बन्धित निकायको पत्र र उपलब्धताको आधारमा मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउण्टरबाट असोज १६ गतेदेखि नोट सटही सुविधा उपलब्ध गराइने बताइएको छ ।
राजधानी वाहिरका नेपालीका लागि
राष्ट्र बैंकका उपत्यकाबाहेकका कार्यालयहरु र राष्ट्र बैंक मातहतमा सञ्चालित नोटकोष रहेका वाणिज्य बैंकहरुले समेत असोज १६ गतेदेखि सर्वसाधारणलाई नयाँ तथा सुकिला नोट सटहीको सविधा उपलब्ध गराउनुपर्ने छ ।
सर्वसाधारणले यसपाली प्रतिव्यक्ति अधिकतम ३७ हजार रुपैयाँसम्म साट्न पाउनेछन् । अघिल्लो वर्ष दसैंतिहारमा सर्वसाधारणले प्रतिव्यक्ति २२ हजार रुपैयाँसम्म यो सुविधा पाएका थिए । यसपालिको दसैंमा सर्वसाधारणले ५, १०, २०, ५० र १०० का गरी दुईरदुई प्याकेटका दरले सटही गर्न पाउने छन् ।
दसैंमा वितरण हुने नयाँ नोटमध्ये १ सय र ५० रुपैयाँमा मात्र गर्भनर चिरञ्जीवी नेपालको हस्ताक्षर हुने छ । बाँकी सबै दरका नोटमा पूर्वगभर्नर युवराज खतिवडाको हस्तारक्षर हुने राष्ट्र बैंकले बताएको छ ।





