केही वर्षयता सुनको मूल्यमा वृद्धि हुँदासमेत आयातमा कमी नआएपछि यति धेरै सुन कहाँ र केमा प्रयोग हुन्छ भन्नेबारे पनि उत्तिकै चासो बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य आयातित सुनमध्ये ९५ प्रतिशत गृहिणीले नै प्रयोग गर्ने गरेको बताउँछन्।
आर्थिक वर्ष २०७४/ ७५ देखि २०७८/७९ माघसम्म विभिन्न मुलुकबाट आयात गरिएको उक्त परिमाणको सुनको बजार मूल्यअनुसार कुल १ खर्ब ३२ अर्ब ३८ करोड रुपैयाँ हुने भन्सार विभागको तथ्यांकमा उल्लेख छ। अर्थशास्त्रीहरू पछिल्लो समयमा नेपालीहरूको क्रयशक्ति बढ्दै गएको उदाहरणका रूपमा बढ्दो सुन आयातलाई लिनुपर्ने बताउँछन्।
अर्थशास्त्री जितेन्द्र उपाध्याय सुन किन्नमा जति बढी मुद्रा खर्च हुन्छ, त्यति नै बढी अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताउँछन्। लगानी उत्पादनमूलक क्षेत्रमा भए त्यसले रोजगारी सृजना गर्ने मात्र नभई समग्र उत्पादन प्रणालीमा नै सुधार हुन्छ। तर, नेपालमा त्यतातिर भन्दा शरीरभरि सुन लगाएर प्रदर्शन गर्ने क्रम बढेकाले चेतनाको विकास गर्नुपर्ने अर्थशास्त्रीहरूको धारणा छ।
केन्द्रीय तथ्यांक विभागका अनुसार हाल वैदेशिक रोजगारीबाट प्राप्त भइरहेको विप्रेषणमध्ये करीब साढे २ प्रतिशत मात्र पूँजी निर्माणमा प्रयोग हुने गरेको छ। अधिकांश विप्रेषण विलासिताका वस्तुको खरीद र दैनिक गुजारामा सकिँदा विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। गतवर्ष वैदेशिक रोजगारीमा गएका नेपालीले ९ खर्ब ६१ अर्ब रुपैयाँ विप्रेषण पठाएका थिए। चालू वर्षको ७ महिनामा यस्तो विप्रेषण ५ खर्ब ४० अर्ब रुपैयाँ प्राप्त भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
नेपालमा महिलाहरूले सुन बढी खपत गर्ने गरेका छन् । त्यसबाहेक पर्यटकलाई आकर्षित गर्न सुनको लेप लगाएर विभिन्न किसिमका कलात्मक सामग्री बनाउने गरिन्छ।
चालू आवको सात महिनामा २५ अर्ब २१ करोड रुपैयाँको ३ हजार ६४३ केजी सुन आयात भएको विभागले जनाएको छ। गत आवको अन्त्यसम्ममा २७ अर्ब ३४ करोड रुपैयाँको ३ हजार ९२४ केजी सुन आयात भएको थियो ।अभियान दैनिकबाट