February 24th, 2016

ओरालो गतिमा नेप्से, ४२ करोडको कारोबार

economicsकेही समययता नयाँ उचाईमा पुग्ने क्रममा रहेको नेप्सेले मंगलबारदेखि उँधो गति लिएको छ । मंगलबार ५ अंकले घटेको परिसूचक बुधबार ६.०३ अंकले घटेर १२ सय ७९ दशमलव ९० अंकमा सिमित भएको छ । परिसूचकसँगै, कारोबार रकम पनि घट्ने क्रममा रहेको छ । मंगलबार ५५ करोडको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जमा बुधबार ४२ करोडमाथिको कारोबार भएको छ । दिनभरिमा १ सय १९ वटा कम्पनिको १८ सय २६ कित्ता शेयर १० लाख १२ हजार ८७ पटक किनबेच हुँदा ४२ करोड ७७ लाख १५ हजार ७ सय ११ रुपैँया बराबरको कारोबार भएको छ । 

कुल कारोबार मध्ये, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको सबैभन्दा धेरै ६ करोड १५ लाख ५ हजार २ सय ५९ रुपैँया बराबरको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैँकको ७ करोडमाथिको कारोबार भएको छ । बैँकको संस्थापक शेयरको ४ करोड ७२ लाख र साधारण शेयरको २ करोड ३३ लाख ७० हजार रुपैँया माथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैँक, एनएमबी बैँक र नेपाल बंगलादेश बैँकको २ करोडमाथिको शेयर कारोबार भएको छ भने सानिमा बैँक, नेशनल हाइड्रो, नेपाल दुरसञ्चार कम्पनि र शिखर इन्स्योरेन्सको कारोबारले १ करोड नाघेको छ । 

बुधबार फेवा विकासका लगानीकर्ताले १० प्रतिशतले सम्पत्ति बढाएका छन् भने नमस्ते वित्तीय संस्था, युनियन फाइनान्स, मिसन डेभेलपमेन्ट बैँक, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट लगायतका लगानीकर्ताले पनि कमाएका छन् । सिद्धार्थ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ६.०८७ प्रतिशतले गुमाएका छन् भने राप्तीभेरी विकास बैँक, इनोभेटिभ डेभेलपमेन्ट बैँक, देव विकास बैँक, युनाइटेड इन्स्योरेन्स लगायतका लगानीकर्ताले पनि गुमाएका छन् । 

वाणिज्य बैँक, होटल र जलविद्युत् समूहले बुधबारको बजार ओरालेका छन् । यी समूहको शेयर क्रमशः १०.९१, २७.६१ र २३.५१ अंकले घटेको छ । विकास समूह पनि सामान्य ०.६३ अंकले घटेको छ । त्यस्तै, वित्त, विमा र अन्य समूहको शेयर क्रमशः ११.६७, १.६६ र २.३५ अंकले बढेको छ ।