नेपाल राष्ट्र बैँकले डलर ल्याउनेबारे आइतबारसम्म टुंगो लगाउने भएको छ । बजारमा डलरको अभाव भएपछि त्यसको समाधानका लागि राष्ट्र बैँकले डलर ल्याउने तयारी गरिरहेको छ । डलर ल्याउने वा नल्याउनेबारे छलफल भईरहेको र आइतबारसम्म यसबारे टुंगो लाग्ने राष्ट्र बैकका सह–प्रवक्ता राजेन्द्र पण्डितले बताए । ‘डलर ल्याउनेबारेमा केही दिनयता छलफल भईरहेको छ, आज पनि हुन्छ ।’ उनले भने, ‘भोली वा आइतबारसम्म त्यसबारेमा टुंगो लाग्छ ।’
उनका अनुसार डलर ल्याउने निर्णय भएको एक साताभित्र डलर नेपाल आइपुग्नेछ । राष्ट्र बैंकले अहिले बजारमा देखिएको डलर अभाव समाधान गर्न सिंगापुरबाट एक करोड डलर ल्याउने तयारी गरिरहेको हो । यसका लागि करिब दुइसाता यता गृहकार्य भैरहेको राष्ट्र बैँककले जनाएको छ ।
बजारमा डलरको हाहाकार भएपछि निजी बैँकले पनि डलर ल्याउने प्रस्ताव राष्ट्र बैँक समक्ष गरेका छन् । स्टान्डर्ड चार्टड बैँककको नेतृत्वमा नबिल बैक, इन्भेष्टमेन्ट बैक र हिमालयन बैंकले सिंगापुरबाट कार्गो गरेर डलर ल्याउने आन्तरिक तयारी गरिरहेको बताइएको छ । स्टान्र्डड चार्टड बैकले नेपालमा डलर ल्याउन राष्ट्र बैकमा औपचारिक रुपमा अनुमति मागेको छ ।