Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

१४ दशमलव ३५ प्रतिशतमा सिमित भयाे विद्युत चुहावट, ​२.८३ प्रतिशतले घट्यो

२०७८ पुष ११ गते

बैंकिङ खबर/ चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा विद्युत चुहावट २ दशमलव ८३ प्रतिशत विन्दुले घटेको छ। नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट विद्युत चुहावट घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार गत आवको कात्तिकमा प्रणालीबाट १७ दशमलव १८ प्रतिशत चुहावट हुने गरेकोमा चालू आवको कात्तिकमा २ दशमलव ८३ प्रतिशत विन्दुले घटेर १४ दशमलव ३५ प्रतिशतमा झरेको छ। कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९ दशमलव २४ प्रतिशत र बाँकी प्रसारण तथा उत्पादनतर्फबाट हुने गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रूपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए।

‘गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कारबही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्नेलगायतका काम अभियानकै रुपमा चलाएका छौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘चोरी नियन्त्रण गर्दा कति ठाउँमा हाम्रा कर्मचारीमाथि आक्रामण भएको छ, यस्तो अवस्थामा पनि वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएका छौं।’

प्राधिकरणले चालू आवमा विद्युत चुहावट १५ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने प्राधिकरणले जनाएको छ।