साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा ६३ करोडमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय १३ वटा कम्पनिको २७ सय ४२ कित्ता शेयर १८ लाख ६५ हजार १५ पटक किनबेच हुँदा ६३ करोड १२ लाख २९ हजार १ सय ३३ रुपैँया बराबरको कारोबार भएको हो ।
केही सातादेखि नयाँ नयाँ रेकर्ड बनाइरहेको शेयर बजार आइतबार पनि नयाँ उचाईमा पुगेको छ । नेप्से परिसूचकले आइतबार ५.६४ अंकको वृद्धि हासिल गर्दै आजसम्मकै उच्च १२७८.९२ अंकको नयाँ रेकर्ड बनाएको छ ।
आइतबार सबैभन्दा धेरै कारोबार सानिमा बैँकको भएको छ । बैँकको ५ करोड ८० लाख ७० हजार १ सय ५० रुपैँयाको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैँकको पनि ५ करोड माथिको शेयर कारोबार भएको छ । नेशनल हाइड्रो र सनराइज बैँकको ४ करोडमाथिको शेयर कारोबार भएको छ भने नेपाल बंगलादेश बैँकको ३ करोडमाथिको कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै, एनआईसी एसियाका साथै नेपाल इन्भेष्टमेन्ट बैँकको प्रोमोटर शेयरको २ करोडमाथिको कारोबार भएको छ भने एनएमबी बैँक, हिमालयन बैँक र सिटिजन्स बैँक इन्टरनेशनलको १ करोडमाथिको शेयर कारोबार भएको नेप्से तथ्यांक रहेको छ ।
आइतबार स्वरोजगार लघुवित्त विकास बैँक र नमस्ते वित्तीय संस्थाले धेरै कमाएका छन् । यी कक्पनिहरुको शेयर मूल्य क्रमशः ९.९७ र ९.९३ प्रतिशतले बढेको छ । त्यस्तै, नेशनल हाइड्रो, एसीई डेभेलपमेन्ट बैँक, कञ्चन डेभेलपमेन्ट बैँक, अल्पाइन डेभेलपमेन्ट बैँक, सगरमाथा इन्स्योरेन्स, हिमालयन बैँक, अपि पावर कम्पनि, भक्तपूर फाइनान्स लगायतका लगानीकर्ताले कमाएका छन् । काष्टमण्डप डेभलपमेन्ट बैँकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस बैँकको शेयर मूल्य ४.६२१८ प्रतिशतले घटेको छ । त्यस्तै, विजय लघुवित्त वित्तीय संस्था, नेपाल ग्रामीण विकास बैँक, कालिञ्चोक डेभलपमेन्ट बैँक, सहयोगी विकास बैँक, प्रिमियर इन्स्योरेन्स, टुरिजम डेभेलपमेन्ट बैँक, जागवेली लघुवित्त विकास बैँक लगायतका लगानीकर्ताले गुमाएका छन् ।
वीमा समूहबाहेक कारोबार भएका सबै समूहका शेयर सूचक उकालो लागेका छन् । ६ करोड ८१ लाखमाथिको कारोबार भएको वीमा समूहको शेयर १३.९९ अंकले घटेको छ । त्यस्तै, वाणिज्य बैँँक, होटल, विकास बैँक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक समूह क्रमशः ८.०५, १०.८३, ३.३, ८.४३, १.५३ र २९.१६ अंकले बढेका छन् भने अन्य समूहको आइतबार कारोबार भएन ।