अपेक्षा ढुंगाना, बैंकिङ खबर । कोभिडको महामारीले केही कमजोर बनेको बैंकिङ क्षेत्र पुनः आफ्नो लयमा फर्किन थालेको छ । संक्रमण रोक्न सरकारले लकडाउन गर्दा कर्जा र लगानी खुम्च्याउन बाध्य भएका बैंकहरुले चाडपर्वको चहलपहल र आर्थिक गतिबिधि चलायमान हुन थालेसँगै कर्जा र निक्षेपमा सुधार गर्न थालेको देखिएको छ ।

बाणिज्य बैंकहरुले असार ३१, २०७७ मा स्वदेशी निक्षेप मात्र ३ हजार ३ सय ६२.६४ अर्ब संकलन गरेकोमा २०७७ असोज ३० सम्म आइपुग्दा ५.३७ प्रतिशतले निक्षेप वृद्धि गरी ३ हजार ५ सय ४३.१९ अर्ब निक्षेप संकलन गर्न सफल भएका छन् । यसरी स्वदेशी र बिदेशी निक्षेप गरी बाणिज्य बैंकहरुले असोज ३० सम्म कुल ३ हजार ६ सय ५४.५५ अर्ब निक्षेप संकलन गर्न सफल भएको देखिएको छ । यसैगरी कर्जा तथा सापटीमा पनि राम्रै सुधार देखिएको छ । गत असार ३१ मा २ हजार ८ सय ५.८७ अर्ब स्वदेशी कर्जा सापटी प्रवाह गरेको बाणिज्य बैंकले असोज ३० सम्म ४.८३ प्रतिशतले वृद्धि गरी २ हजार ९ सय ४१.४८ अर्ब कर्जा सापटी प्रवाह गरेको देखिन्छ यसैगरी स्वदेशी र बिदेशी कर्जा सापटी गरी असोज ३० सम्म कुल ३ हजार ३४.६८ अर्ब प्रवाह गरेको देखिन्छ ।

यसैगरी, बिकास बैंकहरुले पनि सुधार गरेको देखिन्छ । बिकास बैंकहरुले असार ३१ २०७७ मा स्वदेशी निक्षेप मात्र ३ सय ४७.५१ अर्ब संकलन गरेकोमा २०७७ असोज ३० सम्म आइपुग्दा ७.५२ प्रतिशतले निक्षेप वृद्धि गरी ३ सय ७३.६६ अर्ब निक्षेप संकलन गर्न सफल भएका छन् । यसरी स्वदेशी र बिदेशी निक्षेप गरी बिकास बैंकहरुको असोज ३० सम्म कुल ३ सय ७३.६६ अर्ब निक्षेप संकलन भएको देखिएको छ । यसैगरी कर्जा तथा सापटीमा गत असार ३१ मा २ सय ८१.७१ अर्ब स्वदेशी कर्जा सापटी प्रवाह गरेको बिकास बैंकले असोज ३० सम्म ९.१६ प्रतिशतले वृद्धि गरी ३ सय ७.५२ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ यसैगरी स्वदेशी र बिदेशी कर्जा सापटी गरी असोज ३० सम्म कुल ३ सय ७.५२ अर्ब प्रवाह गरेको देखिन्छ ।
यता, फाइनान्स कम्पनीहरुको हकमा वित्त कम्पनीहरुले असार ३१ २०७७ मा स्वदेशी निक्षेप मात्र ८७.९८ अर्ब संकलन गरेकोमा २०७७ असोज ३० सम्म आइपुग्दा ५.३१ प्रतिशतले निक्षेप वृद्धि गरी ९२.६५ अर्ब निक्षेप संकलन गर्न सफल भएका छन् । यसैगरी कर्जा तथा सापटीमा भने वित्त कम्पनीहरु कमजोर देखिएका छन् । गत असार ३१ मा ७३.४० अर्ब स्वदेशी कर्जा सापटी प्रवाह गरेको वित्त कम्पनीले असोज ३० सम्म आइपुग्दा ०.०४ प्रतिशतको गिरावट आई ७३.३७ मात्र कर्जा सापटी प्रवाह गरेको देखिन्छ । यसरी हेर्दा बैंकिङ क्षेत्र पुनः आफ्नो लयमा फर्किदै गएको देखिन्छ ।

असोजसम्म आउँदा बैंक तथा वित्तीय संस्थाहरुले कुल ४ हजार १ सय २०.८६ अर्ब निक्षेप संकलन गरेका छन् भने असोजसम्म कुल कर्जा सापटी ३ हजार ४ सय १५.५७ प्रवाह गरेका छन् ।
