Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

‘प्रभु पे’को मूख्य प्रायोजनमा विद्युतीय वित्तीय कारोबार सम्बन्धी गोष्ठी सम्पन्न

२०७६ श्रावण १४ गते

बैंकिङ खबर । मोबाइल वालेट प्रभु पे को मूख्य प्रयोजनमा आइसीटीको महत्व एवं विद्युतीय माध्यमबाट वित्तीय कारोवार विषयक गोष्ठी सम्पन्न भएको छ । कर्णाली प्रदेशअन्तर्गतका जिल्लाहरु नेपालगञ्ज र सल्यानमा गोष्ठी सम्पन्न भएको हो । कम्प्यूटर एशोसियसन अफ नेपाल महासंघ बाँके र सल्यानले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका थिए ।

नेपालगञ्जमा भएको गोष्ठीको उद्घाटन सत्रमा नेपालगञ्ज उपमहानगरपालिककी उपमेयर उमा थापामगरले आम नागरिकलाई सूचना प्रविधिका बारेमा जानकारी गराउन आवश्यक रहेको बताइन् । उनले सूचना प्रविधि मैत्री बनाउन आफ्नो कार्यालयमा एप्स, वेभसाइटको विस्तार गरेको जानकारी दिइन् । नयाँ प्रविधि र विद्युतीय माध्यमबाट गरिने वित्तिय कारोवारको आवश्यकता र प्रयोग गर्न आएका नयाँ प्रविधिका बारेमा जनचेतना फैलाउन यस क्षेत्रमा काम गर्ने संघसंस्थाको मुख्य भूमिका रहेको र आवश्यक सहयोग सँधै रहने उनले उल्लेख गरिन् ।

महासंघका केन्दी्रय सदस्य ईश्वर पोखरेलले गाँस, वास र कपासमा अबदेखि आइसिटी पनि थपिएको बताए । क्यान महासंघ बाँकेका अध्यक्ष भोजराज पोखरेलले आइसिटी विना देशले चाहेको समृद्धि आउन नसक्ने बताउँदै जनस्तरमा प्रविधिको विकास र प्रयोगका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहकार्यमा क्यान महासंघले विद्यार्थीहरुका लागि १ करोड ४८ लाख बराबरको दोश्रो आइसिटी स्क्लरशीपमा आवेदन खुल्ला रहेको जानकारी पनि उनले गराए ।

सल्यानमा आयोजित कार्यक्रममा उपमेयर सविता बस्नेत घर्तीले नयाँ प्रविधिको प्रयोग र आवश्यकताका बारेमा जानकारी दिने उद्देश्य सहित गरेको गोष्ठी कार्यक्रम निकै नै प्रभावकारी रहेको भन्दै आयोजक संस्था क्यान महासंघ सुर्खेत, प्रायोजक मोवाइल वालेट प्रभु पे र आइसिटी सेमिनार अन डिजीटल फाईनान्सियल सर्भिसेजका शीर्षकमा प्रस्तुतिकरण दिनुहुने प्रस्तुतकर्ताहरुलाई धन्यवाद दिइन् । उनले विकासका दृष्टिकोणले पछाडि रहेको कर्णाली प्रदेशमा विद्युतीय माध्यमबाट वित्तिय कारोवार गर्न सक्ने वातावरण सिर्जना गर्न हातेमालो गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

त्यस्तै क्यान महासंघ, सुर्खेतका अध्यक्ष भीम मल्लले आईसिटीका बारेमा जनसमुदायसम्म पहुँच पुर्याउनका लागि सरकारको तर्फबाट निजी संघसंस्थासँग सहकार्य गर्न आग्रह गर्दै सरकारी काम कार्यमा नयाँ प्रविधिको प्रयोग हुनुपर्नेमा जोड दिए ।

त्यस्तै विद्युतीय माध्यमबाट सरल। सुरक्षित तथा भरपर्दो तरीकाले कसरी वित्तीय कारोवार कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रभु मेनेजमेन्टका डिजीटल फाईनान्सियल सर्भिसेज प्रमुख केशव राज आचार्यले आफ्नो प्रस्तुति दिएका थिए । प्रस्तुतकर्ता आचार्यले विभिन्न सहकारीसंस्थाहरुको क्षमता अभिवृद्धि तथा आर्थिक लेखा जोखालाई पारदर्शी बनाउन प्रभु मेनेजमेन्टले ल्याएको निःशुल्क सफ्टवेयर, स्वचालित पेमेन्ट सिस्टम कियोस्क मेशीन, पोस डिभाइस, मल्टी यूटिलिटी पेमेन्ट कार्ड र वालेट अब मोवाइलमा भन्ने नाराका साथमा आएको प्रभु पे का बारेमा जानकारी दिएका थिए । मुख्य प्रायोजक समेत रहेको प्रभु पे मोवाइल वालेटको प्रयोगबाट अब स्वदेश तथा विदेशबाट आएको रेमिट्यान्स सिधै वालेटमा पठाउन मिल्ने, विजुली, धारा, टेलिफोन, इन्टरनेट, टि.भी लगायतको महशुल मोवाइल वालेटबाटै पेमेन्ट गर्न सकिने बारे जानकारी गराए ।

कार्यक्रममा आईसिटी इन गुड गर्भरनेन्सका बारेमा उप प्राध्यापक ई.उत्तम कार्कीले प्रस्तुतिकरण दिएका थिए । ई. कार्कीले प्रस्तुतिमा सरकारी निकायले प्रविधिमा गरेको विकास एवं सर्वसाधारणले प्रविधिको प्रयोग गरी जनजीवनलाई कसरी सहज बन्न सक्छ भन्ने बारेमा जानकारी गराए । सरकारले डिजीटल नेपालको परिकल्पना गरिरहेको परिप्रेक्ष्यमा नयाँ नयाँ प्रविधिको बारेमा आफूहरु पनि जानकार रहनुपर्ने र सर्वसाधारणलाई पनि सहज तरीकाले सरकारी कार्यालयहरुमा काम गर्न सक्ने प्रविधिको प्रयोग गर्न पर्नेमा जोड दिए ।

नेपालगञ्जको कार्यक्रममा करीब २०० जना र सल्यानकोमा करीब १०० जना सहकारी संस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरु साथै आइसिटीका बारेमा जान्न इच्छुक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।